काठमाडौं। कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ अन्तर्गत ३३ उद्योगलाई अनुदान प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई छनोट गरी अनुदान प्रदान गरेको हो ।
प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ३३ उद्योगलाई छनोट अनुदान दिइएको हो । लामो समयदेखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रमका लागि गत आवमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । घरेलुमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगको स्तरोन्नतिका लागि अनुदानस्वरुप छनोट गरिएका प्रतिउद्योगलाई तीनदेखि पाँच लाखसम्म अनुदान उपलब्ध गराइएको हो।
उद्योगको स्तरोन्नतिपछि अनुदानका लागि छनोट भएका उद्योगका सञ्चालकले उद्योगलाई आवश्यक पर्ने औद्योगिक उपकरणलगायत सामग्री खरिद गरेको बिल कार्यालयलाई उपलब्ध गराएपछि खरिद गरेको बिलका आधारमा रकम भुक्तानी गरिएको उक्त कार्यालयले जनाएको छ । उद्योगीको २० र प्रदेश सरकारको ८० प्रतिशत लागत साझेदारीमा अनुदान दिइएको हो ।
उक्त कार्यालयका अनुसार डेरी, फर्निचर, मौरी पालन, कृषिजन्यलगायत स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई छनोट गरी अनुदान दिइएको हो । उद्योग स्थापना भएदेखि सरकारी सहायता नलिएकालाई अनुदान दिइएको हो । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा उक्त कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयमार्फत सञ्चालन भएको भएको छ ।




.gif)





