काठमाडौँ,साउन ६ । गृहमन्त्रीस्तरीय निर्णय अनुसार २०८० माघ १० देखि लागु हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजात बारे ‘मापदण्ड’ लागु गरिएको छ । मापदण्ड अनुसार पर्यटक भिसा तथा भिजिट भिसामा जाँदा दुईतर्फी हवाई टिकट, ५ सय अमेरिकी डलर बराबरको नगद साटेको प्रमाण र भ्रमण अवधिभरका लागि होटल बुकिङ गरेको प्रमाण देखाउनुपर्छ । भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा ६ प्रकारका कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बुझाउनुपर्छ । त्यस्ता कागजातहरू जुटाउन पर्यटक भिसामा आफन्त भेट्न अथवा घुम्नकै लागि जानेहरूका लागि धौधौ पर्छ । तर, बिचौलियाहरूले त्यस्ता कागजात सहज रूपमा तयार गर्न सक्छन् ।
त्यस्ता कागजात सर्वसाधारणले सहज रूपमा बनाउन सक्दैनन् । यही अवस्थाको फाइदा उठाएर बिचौलिया र अध्यागमनका कर्मचारीले पर्यटक भिसाको नाममा उक्त मापदण्डमा टेकेर ‘सेटिङ’मा विदेश पठाउने र असुल्ने धन्दा चलाएका छन् । काठमाडौँ उपत्यकाका केही ट्राभल एजेन्सी र मेनपावर एजेन्टहरूले ५ सय अमेरिकी डलर साटेको छाप लगाएर यात्रुलाई पासपोर्ट दिन्छन् । एउटै रकम घुमाएर उनीहरूले बैंकमार्फत छाप लगाउने गरेको अध्यागमन विभागका एक जना उच्च अधिकृतले बताए । उनले भने, ‘डलर साटेको छाप देखाएपछि रकम देखाउनु पर्दैन । बिचौलियाहरूले एउटै रकम धेरै जनाका लागि घुमाइरहन्छन् ।’
कतिपयले फर्जी छाप लगाएर पठाउने गरेको पनि आरोप छ । यात्रा अनुमति पाउनुअघि दुईतर्फी हवाई टिकट र होटल बुकिङ भएको कागजात पेस गर्नुपर्छ । बिचौलियाहरूले एयरलाइन्सका कर्मचारीहरूसँग मिलेर फर्किने टिकट बुकिङ गर्ने र काठमाडौँबाट यात्रु उड्नासाथ रद्द गर्ने गरेकाको एक गृहमन्त्रालयका अधिकृतले बताए । ती अधिकृतले भने, ‘त्रिभुवन विमानस्थलबाट भिजिट भिसाको यात्रु उड्नासाथ टिकट क्यान्सिल गर्न मिल्छ, त्यसमा एयरलाइन्सका कर्मचारीको पनि मिलेमतो हुन्छ ।’ होटल बुकिङ पनि क्यान्सिल गर्न मिल्छ । बिचौलियाहरू गन्तव्य मुलुकको होटलबारे जानकार हुन्छन् र त्यस्तो कागजात तयार गरेर क्यान्सिल गरिदिन्छन् । मापदण्ड यात्रु अनुकूल नभएको गुनासो आएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले बताए । फर्जि कागज पत्रलाई आधार बनाएर एजेन्ट मार्फत मोटो रकम बुझाएर विदेशिने क्रम नरोकिएको उनले बताए ।
रिजालका अनुसार , ‘मापदण्ड नै नबनाएको भए बरु वास्तविक यात्रुले कम दुःख पाउने थिए भनेर कुराचाहिँ उठेको छ ।’ बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले मापदण्डमा टेकेरै यात्रा अनुमति दिने गरेका छन्। अख्तियारले छानबिन थालेपछि पनि मापदण्ड पुगेको भन्दै खाडीमा घरेलु काम गर्न जाने महिलाहरूसँग ६० हजारसम्म असुल्न थालेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अधिकृतहरू बताउँछन् ।
एक जना अधिकृतले भने, ‘पहिलेजस्तो खुला रूपमा चाहिँ छैन तर, एकादुई माहिलालाई ६० हजारसम्म लिएर पठाउने गरेको पाइन्छ ।’ विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थ भट्टराईमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । भट्टराईमाथि छानविन सुरु भएपछि विमानस्थल अध्यागमन कार्यालयमा विष्णु कोइरालालाई प्रमुखका रूपमा पठाइएको थियो । दुई महिना पूरा नहुँदै असार ३१ मा कोइरालाईलाई गृह मन्त्रालयले हटाएर त्यहाँ सहसचिव नरहरी घिमिरेलाई पठाएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई पनि सरुवा गरिएको छ । महानिर्देशकमा रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयस्थित शान्ति सुरक्षा महाशाखाको प्रमुखबाट अध्यागमनमा विभागमा सरुवा भएका हुन् । कोइराला त्रिभुवन विमान स्थलमा हुदाँ पनी सो सेटिङ्गको क्रम नरोकिएपछी उनलार्य फिर्ता बोलाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई र ३ जना बिचौलियामाथि विस्तृत अनुसन्धान गरिरहेको भएपनी सेटिङ्गमा दैनिक महिलाहरु भिजिट भिषामा जाने गरेका छन ।
अध्यागमन कार्यालयका तत्कालिन प्रमुख तीर्थराज भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिला अनुसन्धानको दायरामा छन् । छानबिन समितिले काम गरिरहँदा एजेन्टको सेटिङ्गमा लिला परियार, सुन माया तामाङ र निकिता तामाङ साउन २ मा विमानस्थलबाट भिजिट भिसामै उडेको स्रोत बताउँछ । जुलाई १९ अर्थात साउन ३ मा उनीहरू कतारको दोहाबाट कुवेत उडेका छन् । उनीहरुको अवस्था अहिले कुन अवस्थामा छन र उनीहरु कहाँ छन यस विषयमा सबै अनविज्ञ रहेको स्रोतले बतायो । सेटिङमा महिलालाई घरेलु काममा पठाउने क्रम अझै रोकिएको छैन । अझ दिन प्रतिदिन वढ्दो मात्रामा रहेको छ । विमान स्थल स्रोतका अनुसार उनीहरूलाई अध्यागमनका कर्मचारीले ६ बुँदे मापदण्डमा टेकेर यात्रा अनुमति दिएका हुन् ।मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्, ‘समितिले ६ बुँदे मापदण्डबारे पनि छानबिन गर्न जरुरी छ ।’ यसअघि मानव बेचबिखन ब्युरोबाट भिजिट भिसामा हुने बदमासी नियन्त्रण गर्न प्रहरी खटाउने गरिएको थियो, तर विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको सक्रियतामा अहिले ब्युरोका प्रहरी फिर्ता भएका छन् । पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको समितिले मापदण्डबारे पनि छानबिन र अध्ययन गर्नुपर्ने गृह मन्त्रालयका समय समयमा यस विषयमा कुरा उठ्ने गरेको छ ।
यस्तो छ ६ बुँदे मापदण्डः
कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी ।
.दुईतर्फी हवाई टिकट
.भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।
.सम्बन्धित देशको प्रवेषाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भएर प्रवेषाज्ञा नचाहिने ।
.५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण ।
.युएई, बहराइन, कुवेत, कतार ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषण गर्नुपर्ने । स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने छ ।




.gif)





