रसुवा, साउन ६ – गत असार २४ गते आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक आजदेखि पुनः सञ्चालनमा आएको छ। ल्हेन्दे खोलामा आएको बाढीले सडक भत्काउँदा उक्त खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको थियो।
सडक सञ्चालनमा आएसँगै आजै देखि काठमाडौँ–टिमुरे यात्रुवाहक बस सेवा पनि पुनः सुरु भएको छ। नमस्ते पासाङल्हामु बस सेवा समितिअन्तर्गत धुञ्चेका काउण्टर प्रमुख सन्तोष तितुङका अनुसार आज पहिलो यात्रुवाहक बस काठमाडौँबाट टिमुरे पुगेको हो।
गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङका अनुसार बाढीपछि प्रभावित टिमुरे क्षेत्रको जनजीवन क्रमिक रूपमा सामान्य बन्दै गएको छ। तर, मितेरी पुल भत्किएको कारणले केरूङ नाका हुँदै चीन प्रवेश गर्ने सम्भावना अझै छैन।
यसबीच टिमुरे, घट्टेखोला र रसुवागढी आसपासमा रोकिएका ट्रक तथा कन्टेनरहरू फर्किन थालेका छन्। ट्राफिक प्रहरीका अनुसार १५ वटाभन्दा बढी सवारीसाधन हाल सम्म रित्तै काठमाडौँ तर्फ फर्किएका छन्।
त्यस्तै, चीनबाट आयात गरिएका दर्जनौँ विद्युतीय कारहरू पनि अहिले धमाधम काठमाडौँ तर्फ पठाइँदै छन्।




.gif)





