images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण...

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

images
images
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।

    images
    images

    निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो ।

    गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो ।

    images
    images

    दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ ।

    निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले यही भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निणय नभएसम्मका लागि मूल्यमा कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

    अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ । गत साउन ३१ गते प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बैठक बसेको थियो ।

    उक्त बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल गरेको जनाइएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाएको छ ।

    सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विसं २०८३ भदौसम्म नलिने जनाएको छ ।

    उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्य योजना बनाइएको छ । अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरका लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

    गत साउन १८ गते प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका थिए ।

    उक्त छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेका थिए । उनले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका थिए ।

    निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रूपमा लिन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।

    यसैबीच, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायु सेवा सञ्चालकहरूले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरे ।

    प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिएका थिए । यस क्षेत्रमा देखिएका समस्या समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गरेका थिए । उनले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो राखेका थिए ।

    युरोपेली संघ (इयू) ले नेपालको हवाई उडानलाई ‘सेफ्टी’ सूचीमा लगाएको प्रतिबन्ध हटाउन पहल गर्न पनि प्रधानमन्त्रीले सञ्चालकलाई आग्रह गरेका थिए ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले थाई एयर एसियालाई थाइल्यान्डबाट नेपाल उडान गर्न अनुमति दिएको छ । क्यानले थाई एयर एसियालाई सातामा चार उडान भैरहवाबाट र तीन उडान काठमाडौंबाट गर्ने स्वीकृति दिएको हो । उक्त एयरलाइन्सले आगामी असोज ४ गतेदेखि उडान गर्ने गरी अनुमति लिएको जनाइएको छ ।

    कुवेतको जाजिरा एयरले पनि आगामी असोज ९ गतेदेखि गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्नेगरी क्यानसमक्ष कागजात पेस गरेको विमानस्थलले जनाएको छ । उक्त एयरलाइन्सले सातामा तीन उडान गर्नेगरी अनुमति मागेको छ ।

    एयरलाइन्सले विगतमा १० महिना उडान गरेर उडान स्थगित गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो भने त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो ।

    भैरहवामा केही समय अन्तर्राष्ट्रिय उडान भए पनि पोखरा विमानस्थलमा चार्टर उडानबाहेक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend