काठमाडौं । धितोपत्र ब्रोकर कम्पनीलाई चुक्ता पुँजी पुर्याउने समय ९ महिना थप भएको छ ।नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पुँजी पुर्याउने समय बढाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो ।बोर्डले पुँजी थपका लागि संशोधन गरेर पठाएको नियमावलीलाई अर्थ मन्त्रालयले सोमबार स्वीकृति गरेसँगै ब्रोकरले पुँजी पुर्याउने समय ९ महिना थप भएको हो ।
‘सोमबार अर्थ मन्त्रालयले पुँजी थपका लागि संशोधन गरेर पठाएको धितोपत्र व्यवसायी नियमावलीलाई स्वीकृति दिएको छ,’ स्रोतले भन्यो, ‘यो सँगै पुँजी नपुगेका ब्रोकरलाई पुँजी पुर्याउने समय नौ महिना थप भएको छ ।’अर्थको स्वीकृतिसँगै असार मसान्तसम्मको समय सीमा पाएका ब्रोकरले अब चैत मसान्तसम्म चुक्तापुँजी कायम गर्ने समय पाएका छन् ।अघिल्लो साता बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले निर्णय गरी ब्रोकर कम्पनीलाई तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउने समय ९ महिना थप गर्नेगरी नियमावली संशोधन गर्दै स्वीकृतिका लागि अर्थमन्त्रालयमा पठाएको थियो । बोर्डका अनुसार अब २३ वटा ब्रोकर कम्पनीले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन बाँकी रहेको छ ।
बोर्डले गत २०८१ पुस ८ मा पुँजी नपुगेका ब्रोकर कम्पनीलाई पुँजी पुर्याउने योजना माग गरेको थियो । ब्रोकर कम्पनीले पेस गरेको पुँजी वृद्धि योजना समेतको आधारमा सेबोनले नौ महिना समय थप गर्ने प्रस्ताव गरेको थियो ।चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेर पुँजी पुर्याउन नसक्ने कम्पनीले पुँजी थप्नुपर्ने वा मर्जरमा जाने विकल्प बोर्डले दिएको जनाइएको छ ।धितोपत्र बोर्डले २०७९ मा नयाँ ब्रोकरलाई लाइसेन्स दिन न्यूनतम पुँजी बढाउँदै धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ संशोधन गरेको थियो । बोर्डको प्रस्तावमा मन्त्रिपरिषद्ले नियमावली संशोधन गर्दै सेयर ब्रोकरको पुँजी बढाउने निर्णय गरेको थियो ।
२०७९ भदौमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ संशोधनमार्फत ब्रोकर कम्पनीको पुँजी ३० गुणासम्मले बढाउनुपर्ने भएको थियो । उक्त नियमावली संशोधनमार्फत ब्रोकर तीन तहमा विभाजित भएका छन् ।२०७९ भदौमा भएको संशोधित नियमावलीको व्यवस्थाअनुसार सीमित कारोबार गर्ने ब्रोकरको पुँजी २० करोड, पूर्णकारोबार गर्ने ब्रोकरको पुँजी ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको थियो ।नियमावलीको संशोधित व्यवस्थाअनुसार नै बोर्डले ४२ वटा स्टक ब्रोकरलाई लाइसेन्स दिएको थियो । तर, उक्त सयमयमा सञ्चालनमा रहेको सेयर ब्रोकरको लागि भने पुँजी पुर्याउने अवधि २०८२ असार मसान्तसम्म तोकिएको थियो । तर, २३ वटा ब्रोकरले पुँजी पुर्याउन नसक्ने भएपछि बोर्डले समय थप गर्नेगरी नियमावली संशोधन प्रस्ताव अर्थमन्त्रालयमा पठाएको थियो ।




.gif)





