images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रसुवागढी जलविद्युत आयोजनामा नेपाली सेनाद्वारा...

रसुवागढी जलविद्युत आयोजनामा नेपाली सेनाद्वारा फसेका २३ जना कामदार उद्धार

रसुवागढी जलविद्युत आयोजनामा नेपाली सेनाद्वारा फसेका २३ जना कामदार उद्धार

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित रसुवागढी नाकामा आज बिहान आएको भीषण बाढीपछि रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरी सकुशल उद्धार गरेको छ।सेनाको हेलिकप्टमार्फत उनीहरूलाई केही समयअघि उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएको नेपाली सेनाले जनाएकोछ ।

    images
    images

    भीषण बाढीपछि आयोजनामा रहेका उनीहरू मुख्य बजारतर्फ आउन सकेका थिएनन्। मुख्य बजारतर्फ आउने पुल बाढीले बगाएपछि उनीहरू जलविद्युत् आयोजनामै बसिरहेका थिए।तथापि, बाढीमा परी बेपत्ता भएका तीन जना प्रहरीसहित १८ जना व्यक्तिहरू अझै सम्पर्कमा आएका छैनन्।मंगलबार बिहान करिब ३ बजे चीनतर्फको केरुङ र ल्हेन्दे नदीमा आएको बाढी अकस्मात् रसुवागढी क्षेत्रमा प्रवेश गरेको थियो। यस भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाएर ध्वस्त पारेको छ।

    टिमुरे भन्सार कार्यालयको यार्डमा पार्किङ गरिएका कयौं सवारीसाधन बगाएको छ भने ईभी चार्जिंग स्टेशनमा समेत क्षति पुगेको छ र ७/८ वटा ईभी गाडीहरू बाढीले बगाएको छ। रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको छ। बाढीका कारण पासाङल्हामु राजमार्गअन्तर्गत धुन्चेदेखि टिमुरे सम्मको सडक खण्ड पनि अवरुद्ध भएको छ।

    images
    images

    बेपत्ता हुनेको सूची र उद्धार प्रयास:
    यस बाढीमा परी कुल १८ जना व्यक्ति सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरी बलले बेपत्ता हुने व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ। जसअनुसार, नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता छन्।

    यसका अतिरिक्त, टिमुरे भन्सार क्षेत्रमा काम गर्ने नौ जना नेपाली नागरिक कामदार तथा चालकहरू बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ बेपत्ता छन्। बेपत्ता हुने ६ जना चिनियाँ नागरिकहरू यु युई, लि ह्वाकिङ, याङ छुयान, यु हाइ हाङ, यु छियायो क्यू र जोउ योङ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

    बाढी आउन सुरू भए लगत्तै बिहान करिब ३ बजेर ३० मिनेटबाटै स्थानीय प्रशासन र सुरक्षा निकायले उद्धार कार्य सुरू गरेको थियो। विभिन्न सुरक्षा निकायका ९४ जना भन्दा बढी जनशक्ति उद्धारमा खटिएका थिए।यसक्रममा ९ जना व्यक्तिहरुको भने यसअघि नै सकुशल उद्धार गरिएको थियो। नेपाली सेनाले निरन्तर उद्धार कार्यमा सक्रिय रहँदै रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरी थप सफलता हासिल गरेको छ। हाल बेपत्ता १८ जनाको खोजी कार्यलाई युद्धस्तरमा अघि बढाइएको छ।

    तल्लो तटीय क्षेत्रमा शव फेला:
    रसुवाको बाढीकै कारण बगेर आएको हुन सक्ने प्रबल सम्भावनासहित त्रिशुली नदीको तल्लो तटीय क्षेत्रमा मानव शरीरका अंग तथा शवहरु फेला पर्न थालेका छन्। नुवाकोटको विदुर नगरपालिका-४, सिंचाइस्थित त्रिशुली नदी र रसुवाको उत्तरगया गाउँपालिकास्थित बेत्रावतीमा गरी दुई वटा पुरुषको खुट्टा फेला परेको छ।यसका अतिरिक्त, धादिङको गल्छी गाउँपालिका-२ क्यउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुस्थित त्रिशुली नदी किनारमा दुई वटा पुरुषको शव फेला परेको छ।

    बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ भने बेपत्ता व्यक्तिहरुको खोजी कार्य र तल्लो तटीय क्षेत्रमा थप मानव अंग वा शव फेला पर्न सक्ने सम्भावना रहेकाले खोजी तथा निगरानी जारी राखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend