काठमाडौँः त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको हो ।
आइतबार साँझ बसेको समिति बैठकले तीन जनाको नाम टुङ्गो लगाएको र सोमबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई बुझाउने समिति स्रोतले जानकारी दियो ।
त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए । ती मध्ये तीन जनाको नाम फाइनल भएको र भोली कुलपतिलाई बुझाइने समिति स्रोतले जानकारी दियो ।
कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । उक्त सिफारिस समितिले १२ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो । समितिले १२ जना मध्ये पाँच जना प्राध्यापकहरूबाट सिफारिस गरेको समिति स्रोतको भनाइ छ ।
स्रोतका अनुसार हालका उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्र बहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डिल्ली उप्रेती मध्ये तीन जनाको नाम फाइनल भएको हो ।
उपकुलपति केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन । हाल सम्म केसीले निमित्त उपकुलपतिको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
४ वर्षको कार्यकालका लागि नियुक्त भएका बरालले १३ महिनामै राजीनामा दिएका थिए । कुलपति ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गरेका थिए । त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष रहेको केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
उपकुलपति रिक्त भएमा ३ महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधान छ । सोही अनुसार केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।




.gif)





