काठमाडौं । नेपाल स्कुल खेलकुद महासंघ (एनएसएसएफ) र निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)बीच खेलकुद प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय स्कुल खेल महासंघका प्रतिनिधि राजकुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीले निजी विद्यालयहरूमा खेलकुद कार्यक्रमको विकास, समन्वय र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। विद्यार्थीहरूको शारीरिक स्वास्थ्य, अनुशासन, सामूहिक भावना र व्यक्तित्व विकासमा खेलकुदको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ।
सम्झौताअनुसार विद्यालयहरूमा खेलकुद पूर्वाधार निर्माण, प्रतियोगिता आयोजना, खेल प्रतिभा पहिचान, शारीरिक शिक्षाको प्रवर्द्धन र आवश्यक उपकरण सुधारमा सहकार्य गरिनेछ। विद्यार्थीलाई तालिम र प्रतिस्पर्धाका अवसर प्रदान गरिनेछ। जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा एनएसएसएफ प्याब्सन कप, आइएसएफ प्याब्सन कप, आइएसएफ प्याब्सन कम्ब्याट गेम्स, आइएसएफ प्याब्सन गेम्स र स्कुल प्राइमर लिगजस्ता प्रतियोगिता संयुक्त रूपमा आयोजना गरिनेछ।
सम्बन्धित पक्षहरूले आर्थिक र भौतिक स्रोत परिचालनमा सहकार्य गर्नेछन्। सरकारी, निजी र अन्तर्राष्ट्रिय निकायहरूसँग मिलेर स्रोत जुटाइनेछ। कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न संयुक्त रूपमा अनुगमन र मूल्यांकन गरिने र आवश्यक सुधार तथा रणनीति पुनरावलोकन गरिनेछ।सम्झौता आजदेखि लागू हुने र तीन वर्षसम्म मान्य हुने जनाइएको छ। दुबै पक्षको सहमतिमा यो अवधि नविकरण गर्न सकिनेछ। कुनै पक्षले सम्झौता अन्त्य गर्न चाहेमा कम्तीमा ३० दिनअघि लिखित जानकारी दिनुपर्नेछ।




.gif)





