images

२०८३ आश्विन १९ गते

images
images
images

पर्यटकको पर्खाइमा म्याग्दीको टिकोट, संरक्षणका लागि संग्रहालय निर्माण

पर्यटकको पर्खाइमा म्याग्दीको टिकोट, संरक्षणका लागि संग्रहालय निर्माण

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं ।पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता । 

    images
    images

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको संगम हो । पुन थरका मगर समुदायको बाहूल्य बसोबास रहेको सुन्दर, शान्त र रमणीय टिकोट पर्यटकको पर्खाइमा छ । होमस्टे सञ्चालक समेत रहेका टिकोट माविका प्रअ ठगराज पुनले (प्रदिप) कोरोनाकालमा सुस्ताएको टिकोटको पर्यटन व्यवसाय अझै लयमा फर्कन नसकेको बताए । “महाविर पुनको योजनामा सन् २०११ मा शुरु भएको अन्नपूर्ण–धौलागिरी पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटमा कोरोना महामारी अघिसम्म पर्यटक आगमन राम्रै थियो,” उनले भने “पछिल्लो पाँच वर्षयता फाट्टफुट्ट मात्र पर्यटक आउने गरेका छन् ।”

    समुन्द्रि सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाईमा रहेको टिकोटको पृष्ठभूमिमा धौलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण र बराह शिखर हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । टिकोट देखि ३० मिनेट (हाइकिङ) उकालो पैदलयात्रा गरेपछि पुगिने पञ्चबल डाडादेखि हिमशृङखलाको अलावा सुर्योदय, म्याग्दीका ग्रामिण बस्ति र पहाडी भूगोल देखिन्छ । टिकोटका १० वटा घारमा होमस्टे (घरबास) सुविधा छ । यहाँको होमस्टेमा एक दिनमा ४० जना भन्दा बढी पाहुना बास बस्न सक्छन् । विदेशी पर्यटक आउँदा सामुदायिक लजमा खाना खुवाउने र आलोपालो गरेर व्यक्तिका घरमा सुताउन लैजाने नियम छ । होमस्टेका कोठाको झ्यालबाट हिमाल देखिन्छ । 

    images
    images

    नेपाली पाहुनाहरु व्यक्तिगत सम्पर्क गरेर सिधै होमस्टेमा जान्छन् । लघुउद्यम विकास कार्यक्रमको सहयोगमा घरबास र सामुदायिक लज स्थापना भएको थियो । स्थानीय जंगलमा पाइने च्याउ, टुसा, ढकायो सागको गुन्द्रुक, लोकल कुखुराको मासु, फापर, कोदोको ढिडो, गाईभैसीको दूध, दही, विषादी र रासायनिक मलको प्रयोग बिना उत्पादन गरिएको प्राङगारिक तरकारीका परिकारको स्वाद चाख्न पाइन्छ । आमा र पुरख्यौली समूहले मौलिक गित तथा नृत्यले स्वागत गर्छन् । कृषि पेशामा आधारित टिकोटबासीको जिवनशैली पनि पर्यटकको थप आकर्षण हो । 

    अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गको बेनी–मल्लाज–बाँसखर्क– डाडाकटेरी–नागी–मोहरेडाडा–फुलबारी–ठूलाखर्क हुदै पाँचौ दिनमा पुगिने टिकोटबाट बेनी–जोमसोम सडकको तिप्ल्याङ र खिवाङ हुदै खोप्रातर्फ जान सकिन्छ । बेनी देखि तिप्ल्याङ, महभिर हुदै दुई घण्टा जिप अथवा मोटरसाइकलमा कच्चि सडकको यात्रा गरेर पनि टिकोट पुगिन्छ । अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीहरुको संरक्षण गर्न संग्रहालय स्थापनाका लागि भवन बनाएको छ । पछिल्लो दुई आर्थिक वर्षमा बिनियोजन भएको रु २९ लाख बजेटबाट निर्माण भएको दुई तले भवनमा दैनिक जिवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री संकलन गरेर राखिने अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुर्जा पुनले बताए । -रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend