images

२०८३ आश्विन १९ गते

images
images
images

प्रथम आधार शिविर भ्रमणमा पर्यटकको सङ्ख्या बढे

प्रथम आधार शिविर भ्रमणमा पर्यटकको सङ्ख्या बढे

images
images
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौँः बेनी (म्याग्दी) जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो । हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पा सहित चार जनाले सफल आरोहण गर्नुभएको थियो । हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभए पछि नारच्याङ वासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो ।
     
    अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन् । पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप), होटल लगायत पूर्वाधार निर्माण गरे सँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताउनु भयो । उहाँका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए । “यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे । यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन् ।

    images
    images

    अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ”, गुरुङले भन्नुभयो । अन्नपूर्ण आधार शिविर सम्म पुग्ने यस पदमार्ग अन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार यहाँका होटलमा ४० देखि ८० जना सम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन् ।
     
    यस याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिनुभयो । विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आए सँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आउनु भएका माइकल परियारले बताउनु भयो । “दुई दिनको यात्रा पछि यहाँ पुग्न सकिने यस पदमार्ग अन्तर्गत पोखरेबगरबाट हुमखोला सम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ । हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ”, उहाँले भन्नुभयो ।
     
    पदमार्गको प्रवेश विन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई।दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गर्नुभएका अजित सेञ्चुरीले बताउनु भयो । पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसाय मार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यावसायी बताउँछन् । हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन् । पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटल सहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको पनि स्थानीयवासी बताउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend