images

२०८३ आश्विन १९ गते

images
images
images

लगातार घट्दो जलसतहले दूधपोखरीवासी त्रसित

लगातार घट्दो जलसतहले दूधपोखरीवासी त्रसित

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौँः गण्डकी लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरी कुण्डमा जल सतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन् । विगतमा भरिभराउ रहने दूधपोखरी कुण्ड पछिल्लो समय जलसतह घट्दै गएपछि यहाँको सौन्दर्यमा चुनौती थपिएको सरोकार भएकाहरूले बताएका हुन् । पथ प्रदर्शक गङ्गा घलेले जलसतह घट्दै जाँदा यहाँको सौन्दर्यमा चुनौती बढाएको भन्दै यहाँको धार्मिक पर्यटनमा यसले नकारात्मक असर पार्ने देखिएको बताउनु भयो । पर्यटकीय गन्तव्य दूधपोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वासका कारण टाढा टाढाबाट दर्शनार्थी पुग्ने गरेका उहाँको भनाइ छ ।
     
    समुद्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको यो तीर्थस्थललाई देवादिदेव महादेवको बासस्थानका रूपमा लिने गरिन्छ । प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने यो कुण्डको जलसतह पछिल्ला वर्षमा घट्दै गएको घलेले जानकारी दिनुुभयो । “जनैपूर्णिमाको दिन कुण्डमा गरिने स्नानको विशेष महत्त्व छ, उक्त दिन यहाँ पितृलाई दिइने तर्पणले पितृमोक्ष हुने विश्वास छ”, उहाँले भन्नुभयो । विसं २०४४ देखि हालसम्म २३औँ पटकसम्म दूधपोखरी कुण्डमा पुगेको अनुभव सुनाउँदै घलेले हालको अवस्था हेर्दा करिब ५० प्रतिशतको हाराहारीमा जलसतह घटेको बताउनुभयो । “सुरुमा यहाँ पुग्दा देखेको जलसतह अहिले ५० प्रतिशतले घटेको छ”, उहाँले भन्नुभयो, “कुण्डको उत्तरतर्फबाट हिउँपहिरोका कारण कुण्ड पुरिने जोखिम छभने बर्सेनि तापमान वृद्धिको असर कुण्डमा परिरहेको देखिन्छ ।” तापमान वृद्धिका कारण कुण्ड वरपरका हिमालमा हिउँ पर्ने क्रम घट्दै जानु, कुण्डको पिँधबाट पानी बगिरहनुलगायत कारणले जलसतह घट्दै गएको पथप्रदर्शक घलेले बताउनुभयो । लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन, काठमाडौँं लगायत देशका विभिन्न स्थानबाट यस कुण्डमा स्नान गर्न धार्मिक भक्तजन आउँछन् ।
     
    कास्कीको सिक्लेस, ताङतिङ, लमजुङको घलेगाउँ, घन पोखरा लगायत स्थानबाट तीन दिनसम्म पदयात्राका माध्यमबाट यस कुण्डमा दर्शनार्थी पुग्ने गरेका पथप्रदर्शक घलेले उल्लेख गर्नुभयो । यस कुण्डमा स्नान गर्ने व्यक्तिलाई भारतको काशी जान नपर्ने जनविश्वासले रहिआएको उहाँको भनाइ छ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्द्धन र विकासका काम अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्गका संयोजक बोबरजङग गुरुङले बताउनुभयो । उच्च हिमाली क्षेत्रका साथै मानव बस्तीबाट टाढा रहेको यस तीर्थस्थल पुग्ने प्राचीन भेँडीगोठ, नून बोक्न जाने प्राचीन मार्गलाई सम्पदा पदमार्गका रूपमा अघि बढाउँदै पदयात्रा पर्यटन प्रवर्द्धनमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।
     
    सङ्घको आयोजनामा पहिलो चरणमा कास्कीको ताङतिङबाट दूधपोखरी हुँदै मनाङको तिमाङ सम्म अन्वेषणात्मक पदयात्रा गरिएको थियो । त्यस्तै दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कफुचे हिमताल, कोरी, क्होलासोँथर, कपुँडाँडा हुँदै याङ्जाकोट सम्म खोज तथा प्रवर्द्धनात्मक पदयात्रा गरिएको थियो । तेस्रो चरणअन्तर्गत हालै लमजुङको सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङसम्मको खोज तथा प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२६ देखि यस गुरुङ सम्पदा पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
     
    धार्मिक एवं पर्यटकीय महत्त्व रहेको दूधपोखरी कुण्डको जलसतह घट्दै गएकामा सम्बद्ध निकायले समयमा समस्या पहिचान गरी समाधान खोज्नुपर्ने जरुरी रहेको पथप्रदर्शक विकास गुरुङले बताउनुभयो । “दूधपोखरीकुण्डको महत्त्वलाई जीवन्त राख्न, यसको संरक्षण र प्रवर्द्धन गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “यस तीर्थस्थलको धार्मिक पर्यटकीय महत्त्वलाई प्रचारप्रसार गर्दै कुण्डको संरक्षण सहित यहाँ पुग्ने पदमार्गको अत्यावश्यकीय पूर्वाधार विकास गर्नु जरुरी छ ।”

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend