images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • इन्टरनेट युद्धः नेपालमा कसले जित्दैछ डिजिटल...

इन्टरनेट युद्धः नेपालमा कसले जित्दैछ डिजिटल मैदान ?

इन्टरनेट युद्धः नेपालमा कसले जित्दैछ डिजिटल मैदान ?

images
images
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौंः कुनै समय इन्टरनेट भन्नासाथ ‘डायल–अप’ सम्झने नेपाल आज ‘फाइबर क्रान्ति’ को युगमा प्रवेश गरिसकेको छ । डिजिटल जीवन शैलीको मेरुदण्ड बनिसकेको इन्टरनेट सेवा अब केवल सुविधा मात्र रहेन, प्रतिस्पर्धी बजारको सूचक पनि बनेको छ ।

    images
    images

    पछिल्लो तथ्याङ्क अनुसार नेपालको इन्टरनेट बजार नयाँ ढंगले पुनर्संरचना हुँदै गएको छ । प्रयोगकर्ता विस्तारको गति, प्रविधिमा लगानी र पहुँच विस्तारको रणनीतिमा अगाडि बढेका केही कम्पनीहरू अग्रपंक्तिमा देखिएका छन् । त्यस अग्रपंक्तिमा सबैभन्दा अगाडि देखिन्छ वल्र्डलिंक । जसले, ग्राहक संख्या र बजार हिस्साको दुवै मोर्चामा प्रतिस्पर्धीलाई धेरै पछि पारेको छ ।

    अर्कातिर नेपाल टेलिकम, डिश मिडिया नेटवर्क, सुविसु जस्ता स्थापित नामहरू क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा संघर्षरत देखिन्छन् । राष्ट्रिय दूरसञ्चार प्राधिकरणले हालै प्रकाशन गरेको एक तथ्याङ्कले पनि इन्टरनेट बजारमा निकै प्रतिस्पर्धा देखाएको छ।

    images
    images

    गत वैशाख मसान्त सम्मको तथ्यांक अनुसार निजी क्षेत्रको अगुवा कम्पनी वल्र्डलिंक कम्युनिकेसन लिमिटेड बनेको छ । कम्पनी १० लाख ३ हजार ९४९ ग्राहक सहित शीर्ष सूचीमा छ । सरकारी स्वामित्वको नेपाल टेलिकम लगायतलाई उछिन्दै वल्र्डलिंक इन्टरनेट सेवामा सबैभन्दा ठूलो प्रदायक बनेको हो । घरेलु उपभोक्ता देखि कर्पोरेट हाउस सम्मलाई लक्षित गर्दै सेवा विस्तार गरिरहेको वल्र्डलिंक दुई वर्ष अघि नेपालकै पहिलो विदेशी लगानी भित्र्याउने इन्टरनेट कम्पनी बनेको थियो । ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्ड मार्फत भित्रिएको विदेशी लगानी पछि कम्पनीले सेवा विस्तारमा आक्रामक रणनीति अपनाउँदै आएको छ ।

    ग्राहक संख्या सँगै वल्र्डलिंकको राजस्व पनि बढ्दो छ । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था ’केयर रेटिङ नेपाल’ का अनुसार सन् २०२४ मा कम्पनीले ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.७० प्रतिशत बढी हो । अहिले वल्र्डलिंकको फाइबर नेटवर्क मुख्यतया सहर क्षेत्रमा केन्द्रित भए पनि कम्पनीले ग्रामीण क्षेत्र सम्म सेवा विस्तार गर्ने योजना अघि सारेको छ । कम्पनीको १० लाख ३ हजार ६४३ फाइबार ग्राहक छन् भने वायरलेसको संख्या ३०३ रहेको छ । नेपालका कुल इन्टरनेट बजारमा वल्र्डलिंकका ३२.०५ प्रतिशत हिस्सा छ ।

    यस्तै, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको प्रतिस्पर्धामा दोस्रो स्थानमा नेपाल टेलिकम रहेको छ । टेलिककको ग्राहक संख्या ३ लाख ५१ हजार ९१२ रहेको छ । हाल कम्पनीको फाइबार प्रयोगकर्ताहरुको संख्या ३ लाख २५ हजार १८२ रहेको छ । इन्टरनेट बजारमा यसको ११.२३ प्रतिशत हिस्सा छ । टेलिकम सरकारी स्वामित्वको सार्वजनिक संस्थानहरू मध्ये सबै भन्दा धेरै सञ्चित नाफा कमाउने कम्पनी भए पनि इन्टरनेट सेवामा भने अग्रता कायम राख्न सकेको छैन ।

    तेस्रो स्थानमा डिश मिडिया नेटवर्क लिमिटेड छ । हाल यसको ग्राहक संख्या ३ लाख ५० हजार ४०६ छ । कम्पनीले विशेषगरी सहर क्षेत्रमा फाइबर इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ ।

    अन्य ठूला प्रदायकहरू मध्ये सुबिसु क्याबलनेट लिमिटेडको ग्राहक संख्या ३ लाख १० हजार २९४, भायानेट कम्युनिकेसन लिमिटेडको २ लाख ४५ हजार ९४५, क्लासिक टेक प्रालिको १ लाख ८२ हजार ९८६, वेबसर्फर नेपाल कम्युनिकेसनको १ लाख ७६ हजार ६९, टेकमाइण्ड्स नेटवर्क प्र. लि.को ८५ हजार ८९१ र सीजी कम्युनिकेसन लिमिटेडको ८० हजार ८५४ ग्राहक छन् ।

    पछिल्लो समय ‘सस्तो इन्टरनेट’ भनेर चिनिँदै आएको वाइफाइ नेपाल प्रा.लि.को ग्राहक संख्या पनि ७४ हजार नाघि सकेको छ । यद्यपि, बजारमा यी ठूला १० कम्पनी बाहेक ब्रोडलिंक, फाइबर वल्र्ड, सजिलो नेट, कोनेक्ट नेपाल नेटवर्क जस्ता साना प्रदायकहरूले पनि सेवा विस्तार गरिरहेका छन् । ग्राहक संख्या थोरै भए पनि तिनीहरूको क्षेत्रगत उपस्थिति उल्लेखनीय नै छ ।

    ग्राहक संख्या बढ्दै जाँदा सेवाको गुणस्तरीयता भने चुनौतिपूर्ण, इन्टरनेट सेवा प्रदायकहरूको संख्यामा वृद्धि हुँदै जाँदा सेवाको गुणस्तरीयता भने चुनौतिपूर्ण नै छ । उपभोक्ताहरूले बारम्बार सेवामा ढिलाइ हुने, प्रतिज्ञा अनुसारको स्पीड नपाइने र ग्राहक सेवामा कमजोरी जस्ता गुनासा सार्वजनिक गर्ने गरेका छन् ।

    ग्राहक संख्या बढ्दै गर्दा गुनासोहरू पनि सोही अनुपातमा बढेका देखिन्छ । दूरसञ्चार प्राधिकरणका अनुसार २०८०–८१ मा कुल ३०५ वटा उपभोक्ता गुनासो प्राप्त भएका थिए । जसमा २४५ गुनासो इन्टरनेट सेवा सम्बन्धी थिए । तीमध्ये इन्टरनेट स्पीड, सुस्तता, कनेक्टिभिटी, बिलिङ समस्या, टोल फ्री नम्बर समस्या, राउटर, मर्मत र अन्य प्राविधिक पक्षमा व्यापक असन्तुष्टि देखिएको छ ।

    गुनासोको हिसाबले पनि नेपाल टेलिकम ३१ गुनासो सहित शीर्ष स्थानमा छ । दोस्रोमा एनसेल छ । एनसेलमा २२ वटा गुनासो आएका थिए ।

    तेस्रोमा वल्र्डलिंक (१६), चौथोमा भायानेट (१४), पाँचौंमा क्लासिक टेक (१३) र बाँकी अन्य प्रदायकहरू एकल अंकमा छन् । यसले ठूलो ग्राहक आधार भए पनि सेवाको गुणस्तरमा चुनौती कायमै रहेको पुष्टि गर्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend