काठमाडौंः त्रिभुवन विश्वविद्यालय तोडफोडमा संलग्न नेविसंघका नेताहरूलाई जिल्ला प्रशासन कार्यालयले रिहा गरेको छ । २७ जेठमा पक्राउ परेका दिक्पाल कार्की र लोकेश कुँवरलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले सामान्य धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् ।
पक्राउ परेका दुई दिनमा नै तिवारीले उनीहरूलाई प्रतिव्यक्ति १० हजार धरौटीमा छाडेका हुन् । कुँवर शंकरदेव क्याम्पसका नेविसंघका नेता र कार्की सानोठिमी क्याम्पसको नेविसंघ इकाईमा आबद्ध छन् ।
उनीहरू विरुद्ध २१ जेठमा प्रहरी वृत्त कीर्तिपुरमा उजुरी परेको थियो । सर्वसाधारण पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाउँदा २४ दिन सम्म थुनामा राख्न अनुमति दिने प्रमुख जिल्ला अधिकारी तिवारीले सत्तासीन दलका कार्यकर्तालाई चाहिँ दुई दिनमा नै सामान्य धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् ।
शिक्षण संस्थामा तोडफोड गरेर ‘आपराधिक उपद्रव’ गर्नेहरूलाई तिवारीकै आदेशमा कमजोर मुद्दा चलाएर रिहा गरिएको जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृतले बताए ।
यसबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा काठमाडौंका प्रमुख जिल्ला अधिकारी तिवारी सम्पर्कमा आउन चाहेनन् ।




.gif)





