काठमाडौँ । व्यावसायिक सहकार्यको अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित एचपीले आफ्नो अत्याधुनिक थ्रीडी भिडिओ सञ्चार समाधान ‘एचपी डाइमेन्सन (HP Dimension)’ सार्वजनिक गरेको छ । यो गुगलको क्रान्तिकारी गुगल बीम (Google Beam) प्रविधिमा आधारित पहिलो हार्डवेयर हो ।
थ्रीडी भिडिओ सञ्चारमा नयाँ आयामको रूपमा हेरिएको एचपी डाइमेन्सन गुगल बीम प्रविधिमा निर्मित पहिलो यन्त्र हो । यस प्रविधिलाई पहिले ‘प्रोजेक्ट स्टारलाइन (Project Starline)’ नामले चिन्ने गरिन्थ्यो । यो उपकरणमा ६५ इन्चको लाइट फिल्ड डिस्प्ले (light field display) जडान गरिएको छ । जसको बेजेलभित्र ६ ओटा उच्च-गतिका क्यामेराहरू रहेका छन् । यी क्यामेराहरूले कल गर्ने व्यक्तिको 'वास्तविक' थ्रीडी भिडिओ तयार पार्छन् ।यो प्रणालीले हेडसेट, चस्मा वा अन्य कुनै विशेष उपकरणको आवश्यकता बिना नै कोषौँ टाढाबाट जोडिएका सहभागीलाई सँगै एउटै कोठामा रहेको जस्तो यथार्थपरक अनुभव प्रदान गर्छ । एचपीका फ्युचर कस्टमर एक्स्पिरियन्सेस प्रमुख ब्यु वाइल्डरका अनुसार, यसका लागि कुनै विशेष कोठाको आवश्यकता पर्दैन, तर उच्चतम अनुभवका लागि सेतो ब्याकग्राउन्ड राम्रो मानिन्छ ।
"हामी तपाईंको अगाडि टेबुलमा राखिएको सानो बाकसभित्र एउटा विम्बात्मक चित्र देखाउन खोजिरहेका छैनौं," वाइल्डरले भनेका छन्, "हामी चाहन्छौँ कि तपाईं कोठामा छिर्नुहोस् र यसको बारेमा सोच्दै नसोची तुरुन्तै आँखामा आँखा जुधाएर कुराकानी गर्नुहोस् ।"एचपी डाइमेन्सनले अनुहारका विशेषताहरूमा यथार्थपरक छायाँ र प्राकृतिक छालाको टोन देखाउनका लागि एडेप्टिभ लाइटिङ (adaptive lighting) सुविधा पनि प्रदान गर्दछ । यसमा स्पाशियल अडियो (spatial audio) जोडिएको छ, जसले आवाजलाई शरीरबाट कहिल्यै अलग गर्दैन ।
स्पिकरहरू समावेश छन्, जसले सिधा कानमा आवाज पुर्याएर स्पष्ट अडियो अनुभव दिन्छन् । यद्यपि, एचपी डाइमेन्सन प्रयोगकर्ताहरूले अन्य भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म र उपकरणहरूमा रहेका व्यक्तिहरूसँग पनि कल गर्न सक्नेछन्, तर उनीहरूका सहकर्मीहरूले भने भिडिओ थ्रीडीमा देख्न सक्ने छैनन् ।गुगल बीमका महाप्रबन्धक एन्ड्रयू नर्टकरका अनुसार, गुगल बीमको अन्तिम लक्ष्य 'तपाईँ त्यहाँ हुनुहुन्छ' भन्ने यथार्थपरक महसुस गराउनु हो, जसले मानिसहरूलाई सँगै काम गरिरहेको जस्तो अनुभव दिनेछ । यो उपकरण विशेष गरी इन्टरप्राइज प्रयोगका लागि डिजाइन गरिएको हो ।
एचपी डाइमेन्सनको मूल्य २४ हजार ९९९ डलर (३४ लाख रुपैयाँभन्दा बढी) तोकिएको छ । यसमा भिडिओ कल गर्नका लागि आवश्यक सफ्टवेयर भने समावेश छैन । किनकि प्रयोगकर्ताहरूले जुम वा गुगल मिट जस्ता प्लेटफर्महरूमा पहुँच पाउनका लागि गुगल बीम लाइसेन्स छुट्टै खरिद गर्नुपर्नेछ ।यो उपकरण २०२५ को अन्त्यतिर संयुक्त राज्य अमेरिका, क्यानडा, यूके, फ्रान्स, जर्मनी र जापानमा रहेका ग्राहकका लागि उपलब्ध हुनेछ । सेल्सफोर्स, डेलोइट, र एनईसी कर्पोरेसन जस्ता कम्पनीहरूले यसलाई आफ्नो कार्यालयमा भित्र्याउने प्रतिबद्धता जनाइसकेका छन् ।




.gif)





