images

२०८३ आश्विन २४ गते

images
images
images
नेपाल विद्युत् प्राधिकरण

आठ वर्षमा आधा मात्रै घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

आठ वर्षमा आधा मात्रै घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण भएको  हो ।

images
images
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।

    images
    images

    आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ ।

    विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । 

    images
    images

    आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।

    विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२ दशमलव ९० प्रतिशत, २०७४÷७५ मा २० दशमलव ४५ प्रतिशत, २०७५/७६ मा १५ दशमलव ३२ प्रतिशत र २०७६/७७ मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो । 

    आव २०७७/७८ मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो ।

    त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५ दशमलव ३८ र आव २०७९/८० मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा सफलता हासिल गरेको बताए । 

    कार्यकारी निर्देशक घिसिङले ‘लोडसेडिङ’ अन्त्य भई नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे।

    “प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रुपमा अर्बौं रकम आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटी यो अनुपात छिमेकी देशहरुभन्दा कम भएको छ”, कार्यकारी निर्देशक घिसिङले भने।

    चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब रु १२ अर्ब थप आम्दानी भएको छ । नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेको प्राधिकरणको भनाइ छ ।

    अब चुहावटलाई एकल अङ्क (सिङ्गल डिजिट)मा झार्ने लक्ष्य राखेर काम अगाडि बढाइएको छ ।

    आर्थिक वर्ष २०७२/७३ मा रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३/७४ मा रु एक अर्ब ५० करोड खुद नाफा कमाएको थियो ।

    त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आवमा रु १३ अर्ब ३१ करोड (अन्तिम लेखापरीक्षण हुन बाँकी) पुगेको छ । 

    आठ वर्षअघि रु ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा रु ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको छ ।

    ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण भएको  हो ।

    घिसिङले वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको बताए । 

    प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्ने, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ । 

    प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरुलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलापहरु सञ्चालन गरिरहेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend