images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • पढाइको चाहना पूरा गर्न बाउन्न वर्षको...

पढाइको चाहना पूरा गर्न बाउन्न वर्षको उमेरले छेकेनः वडासदस्य डल्लीदेवी चौधरी

पढाइको चाहना पूरा गर्न बाउन्न वर्षको उमेरले छेकेनः वडासदस्य डल्लीदेवी चौधरी

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • कञ्चनपुरः पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदो रहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले । बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थाल्नुभएको छ । गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उहाँले पढ्न थाल्नुभएको हो । चौधरी गाउँपालिका–४ को वडासदस्य हुनुहुन्छ । उहाँ पढ्नका लागि भर्ना हुनुभएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुनुहुन्छ ।
     
    “सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो”, उहाँले भन्नुभयो, “पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ ।” पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उहाँले बताउनुभयो । “विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूले आफूले यति उति पढेको कुरा सुनाउन थाले आफू नपढेकाले हीनता महसुस गरेँ”, उहाँले भन्नुभयो, “मैले पनि पढेको भए अहिले फुइ लगाउथे भनेर सोच्न थाले, बैठकमै सहभागी शिक्षकले उमेर जति भए पनि पढनका लागि उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलायो, त्यसपछि भर्ना भए, विद्यालयबाट किताब लगेर अध्ययन गर्न थालेको छु ।”
     
    वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्राखरी, दुनालगायत पढ्न र सिक्न थालेको उहाँँले बताउनुभयो । समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उहाँले बताउनुभयो । धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्राखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उहाँ बताउनुहुन्छ ।
     
    अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उहाँको भनाइ रहेको छ । “बुबा किसान (जमिदार)को घरमा कमैया भएर काम गर्नु हुन्थ्यो”, उहाँले भन्नुभयो, “सानै छदा विद्यालय पढ्छु भनेर बुबालाई नभनेको होइन, उहाँले पढ्ने कुराप्रति फिट्टिकै ध्यान दिनुभएन, सानै भएकाले आफूले विद्यालय जाने हिम्मत गरिन्, १०÷१२ वर्षको उमेर भएपछि गोठाला जान थाले त्यसपछि विद्यालय जाने कुरा बिर्सिए ।” तेह्र वर्ष पुग्नै लाग्दा विवाह भयो ।
     
    घरधन्दा गर्नमै उहाँका दिन बित्न थाले । “विवाह भएर आएपछि ससुरालमा भान्साको काम सुम्पियो”, उहाँले भन्नुभयो, “पूरै परिवारका लागि साँझ बिहानको खाना पकाउनुपर्दथ्यो, खाना पकाउन, खुवाउन र भाँँडाकुँडा सफा गर्नमै दिन बित्थ्यो, बचेको समयमा खेतबारीमा काम गर्नमै ठिक्क हुन्थ्यो ।” चुलोचौकाबाट फुर्सदनै नहुने भएपछि पढ्ने कुरा सोच्न पनि नपाइएको उहाँ बताउनुहुन्छ । “विवाह भएको तीन चार वर्षमै बच्चाबच्ची जन्मिए, बच्चाबच्चीलाई हुर्काउनमै समय बित्दै गयो”, उहाँले भन्नुभयो । आफूले नपढे पनि छोराछोरीलाई पढाउनुपर्छ भनेर त्यसतर्फ लागेको उहाँले सुनाउनुभयो । छोरीछोराले एसइई परीक्षा उत्तीर्ण गर्न नसके पनि छोरीलाई सीपमूलक कार्यमा संलग्न गराउनुपर्छ भनेर सिलाइकटाइको कार्य सिकाएर आत्मनिर्भर बनाएपछि विवाह गरेको उहाँ बताउनुहुन्छ ।
     
    छोरालाई इन्टरनेट जडानको कार्यको सीप सिकाएर आत्मनिर्भर बनाएको उहाँको भनाइ रहेको छ । उहाँले छोरीको विवाह भने गरी सक्नुभएको छ । “वडासदस्यमा पहिलोपटक निर्वाचित भएर आएपछि समाजका अगाडि बोल्न निकै गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “वडासदस्यमै दोस्रो कार्यकाल बित्न लागेको छ, अब सबैका अगाडि विकासका कार्य, सामाजिक कार्य, रीतितिथी बसाल्ने कार्यसँगैै गाउँमा हुने सामाजिक कार्यमा नियमित भाग लिने भएकाले बोल्न सिकेको छु ।” उहाँ थप भन्नुहुन्छ, “जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छु, केबल खाँचो छ पढ्न लेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु ।”

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend