images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • नाडाले नेपालमा विद्युतीय सवारी सस्तो बनाउन...

नाडाले नेपालमा विद्युतीय सवारी सस्तो बनाउन सरकारलाई दियो यस्ता सुझाव

नाडाले नेपालमा विद्युतीय सवारी सस्तो बनाउन सरकारलाई दियो यस्ता सुझाव

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले विद्युतीय सवारी साधन (ईभी) को प्रवर्द्धन तथा सम्बन्धित नीतिगत सुधारमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेटका लागि अर्थ मन्त्रालयलाई विभिन्न सुझाव पेश गरेको छ । सवारी साधन आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्क घटाउने, विद्युतीय सवारीको इकोसिस्टम विकास गर्ने र स्वदेशी एसेम्बलिङ उद्योगलाई प्रोत्साहन गर्ने प्रस्तावहरू नाडाले अघि सारेको छ ।

    images
    images

    अधिकतम किलोवाट अनुसार भन्सार दर घटाउन सुझाव दिइएको छ । चारपाङ्ग्रे ईभीमा लाग्ने भन्सार शुल्क घटाएर ५० किलोवाटसम्मका सवारीका लागि पाँच प्रतिशत र अन्तःशुल्क शून्य प्रतिशत कायम गर्नुपर्ने नाडाको माग छ । हाल यस श्रेणीमा १५ प्रतिशत भन्सार र पाँच प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ । त्यस्तै, ५० देखि १०० किलोवाट क्षमताका ईभीका लागि भन्सार शुल्क १० प्रतिशत कायम गरिनुपर्ने सुझाव दिइएको छ, जुन हाल २० प्रतिशत छ । 

    भन्सार दर घटाउनुपर्ने कारणस्वरूप नाडाले विद्युतीय सवारी इन्धन-कुशल, वातावरणमैत्री, आयातित इन्धनमाथिको निर्भरता घटाउने र सन् २०३० सम्ममा ३० प्रतिशत ईभी प्रयोगको लक्ष्य पुरा गर्न मद्दत पुग्ने तर्क दिएको छ ।  नाडाले आफ्ना सुझाव कार्यान्वयन भए नेपालमा ईभी थप किफायती हुने, प्रयोग बढ्ने, जीवाश्म इन्धनमाथिको निर्भरता घट्ने, वातावरण स्वच्छ रहने, हरित कोष (Green Fund) बाट वैदेशिक लगानी आकर्षित हुने र कार्बन क्रेडिटको अवसर सिर्जना हुने बताएको छ । साथै, ईभीको संख्या बढेपछि पेट्रोलको आयात घट्ने समेत उल्लेख गरेको छ ।

    images
    images

    ईभी चार्जरमा हाल लाग्ने १० प्रतिशत भन्सार शुल्कलाई पनि शून्यमा झार्नुपर्ने र प्रमुख राजमार्गको हरेक ५० किलोमिटरमा सार्वजनिक चार्जिङ स्टेसन निर्माणका लागि बजेट छुट्याउनुपर्ने नाडाको माग छ । चार्जरको लागत घट्दा प्रयोगकर्तालाई ईभी अपनाउन सजिलो हुने र दिगो यातायात प्रणाली विकासमा टेवा पुग्ने नाडाको विश्वास छ ।दुईपाङ्ग्रे विद्युतीय सवारीको हकमा लिथियम आयन ब्याट्रीमा लाग्ने २० प्रतिशत भन्सार शुल्क घटाएर एक प्रतिशत कायम गर्नुपर्ने र विद्युतीय मोटरसाइकल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा पार्टपुर्जामा मूल्य अभिवृद्धि कर छुट दिनुपर्ने नाडाको सुझाव छ । यसले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र उपभोक्ताले सजिलै विद्युतीय सवारी अपनाउन सक्ने नाडाको ठहर छ ।

    अनएसेम्बल अवस्थामा ल्याइने विद्युतीय सवारीका पार्टपुर्जा तथा सहायक सामग्रीमा लाग्ने भन्सार शुल्कमा ७५ प्रतिशत छुट दिई सबै ईभी एसेम्बलिङ उद्योगलाई सहयोग पुर्‍याउनुपर्ने प्रस्ताव नाडाले गरेको छ ।यस्तै ब्याट्री प्रतिस्थापन तथा पुनःप्रयोग (रिसाइकल) व्यवस्थापनबारे नाडाले सुझाव राखेको छ । नेपालमा हाल यस्ता ब्याट्री रिसाइकल वा डिस्पोज गर्ने प्रविधि नभएकाले ती ब्याट्रीलाई अन्य देशमा रि-एक्स्पोर्ट गर्न वा नेपालमै रिसाइकल उद्योग स्थापना गर्न प्रोत्साहन गर्नुपर्ने माग गरिएको छ । यसका लागि आवश्यक नीति निर्माण गरी प्रक्रियालाई सहज बनाउनुपर्नेमा नाडाले जोड दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend