images

२०८३ आश्विन १९ गते

images
images
images

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • मुस्ताङ। नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।जोमसोम—कोरला राष्ट्रिय राजमार्गदेखि तीन किलोमिटर दूरीमा पर्ने ढुम्बातालसम्म सडकको पहुँच जोडिएसँगै आन्तरिक तथा पर्यटकको उपस्थिति वृद्धि हुन थालेको हो ।

    images
    images

    मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरलानाका पुगेर फर्किएका पर्यटकले ढुम्बातालको अवलोकन गर्न छुटाउँदैनन् । गण्डकी प्रदेश सरकारले ढुम्बाताल जोड्नेगरी घरपझोङ रिङरोड सडक स्तरोन्नति गरेकाले पर्यटकलाई ढुम्बाताल पुग्न सहज भएको हो ।ताल छेउ रेष्टुरेन्ट सञ्चालन गरेकी सनी थकालीले पर्यटकीय याममा दैनिक २०० देखि ५०० सम्म आन्तरिक तथा बाह्य पर्यटक ढुम्बातालको अवलोकन गर्न आउने गरेको जानकारी दिइन् । ‘विशेषगरी दशैँतिहार र औँसी तिथिमा धेरै पर्यटक यहाँ आउनुहुन्छ, अन्य समयमा औसत ४०–५० जनाको हाराहारी पर्यटक आउँछन्’, उनले भने, ‘बर्सेनि सडक सुविधा सहज हुँदै गएकाले पर्यटक सङ्ख्या वृद्धि भइरहेकोे छ ।’

    यो ताल पछिल्लो समय ‘पान बुट्टे’ तालका रुपमा पनि परिचित छ । ढुम्बाताल माथिको अग्लो स्थानमा अवलोकन गर्दा ढुम्बाताल प्रेम चिह्नका आकारमा देख्न सकिन्छ । यसैका कारण ढुम्बाताललाई पान बुट्टे ताल भन्ने गरिएको हो । करिब १३० मिटर दूरीमा फैलिएको नीलो रङ्गको ढुम्बाताल अग्लो स्थानको जङ्गलको फेदमा छ । नीलगिरि हिमालको फेदमुनिको मूलको पानी सिञ्चित भएर यो ताल बनेको स्थानीयको भनाइ छ ।ढुम्बातालबाट नीलिगिरि र धौलागिरि हिमाललगायत आसपासका डाँडाकाँडा मनमोहक देखिन्छन् । ढुम्बातालमा कुछ्प तेरङ्गा गुम्बा, कालीगण्डकी करिडोरलगायत जोमसोम, ठिनी, स्याङ, मार्फा, सम्लेलगायत गाउँ आकर्षक देखिन्छन् ।

    images
    images

    यसका अलावा ढुम्बातालबाट मार्फा, जोमसोम, स्याङ, ठिनी र सम्ले गाउँलगायतका स्थानका स्याउबारी तथा उवाखेतीले त्यहाँ पुग्ने पर्यटकलाई झनै मोहित तुल्याउने गर्छ ।काठमाडौंबाट ढुम्बाताल आइपुगेकी सोनी अवालले कोलाहल मुक्त स्थानमा रहेको तालमा आइपुग्दा बेग्लै अनुभूति भएको बताइन् ।ढुम्बाताल नजिकै रहेको कुछप तेरङ्गा गुम्बाको इतिहाससँग जोडिएको थकालीको भनाइ छ । उनका अनुसार परापूर्वकालमा ठिनी गाउँका स्थानीय लामा उर्गेन पाल्साङले तिब्बत पुगेर बौद्ध शिक्षा प्राप्त गरेका थिए । त्यस क्रममा लामा पाल्साङलाई बुद्ध धर्म फैलाउन गुरु दक्षिणा स्वरुपमा गुरुले पद्यसम्भव (गुरु रिन्पोछे)को पाँच रत्न उपहार दिएका थिए ।

    बौद्ध धर्मको चार हाँगामध्ये निङ्पा धर्मसँग कुछ्प तेर्ङगा गुम्बा र ढुम्बाताल सम्बन्धित रहेको स्थानीय थकालीको भनाइ छ । बर्सेनि कुछ्प तेरङ्गा गुम्बामा विशेष धार्मिक पूजाआजा चल्दा ढुम्बातालको जल चढाउने गरिन्छ ।ढुम्बाताल कुछ्प तेर्गा गुम्बा व्यवस्थापन समितिको स्वामित्वमा छ । ताललाई एक्यापअन्तर्गत स्थानीय जोमसोम, ठिनी र सम्ले संरक्षण व्यवस्थापन समितिले संरक्षण गर्दै आइरहेका छन् । गुरु पद्यम सम्भवको पाँच रत्न प्रतिस्थापित गुम्बामा विशेष पूजापाठ हुँदा तालमा माछाको भुरा छाड्ने गरेको छ ।तालको उत्तरतर्फको भागमा ठूलो सेतो ढुङ्गा अवस्थित छ । त्यहाँ नागदेवताको थान रहेको बताइन्छ । तालमा माछा मार्न प्रतिबन्ध गरिएको छ । तालमा माछा खानका लागि लोपोन्मुख पानी हाँसहरु जम्मा हुने गर्छन् ।

    पछिल्लो समय प्रदेश, स्थानीय सरकार, एक्याप, संरक्षण व्यवस्थापन समिति, गुम्बा संरक्षण व्यवस्थापन समिति र स्थानीयवासीको पहलमा ढुम्बातालमा पूर्वाधार विकासमा समेत जोड दिइएको छ ।ढुम्बाताल वरिपरि रेलिङसहितको सिँढी बाटो, विश्राम स्थल, हट रुमलगायत विभिन्न सूचनामूलक साइनबोर्डहरुको व्यवस्थापन गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend