images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • पर्यटन क्षेत्रलाई प्रविधिमार्फत जोड्दै दीपकराज जोशी...

पर्यटन क्षेत्रलाई प्रविधिमार्फत जोड्दै दीपकराज जोशी !

पर्यटन क्षेत्रलाई प्रविधिमार्फत जोड्दै दीपकराज जोशी !

images
images
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • दुई दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय दीपकराज जोशी यतिबेला पर्यटन क्षेत्रलाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउन लागेका छन्। नेपाल पर्यटन बोर्डको पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका जोशी कोरोना महामारीको समयमा प्रविधिको महत्व बुझेपछि आफू त्यसतर्फ केन्द्रित भएको बताउँछन्।

    images
    images

    “आवश्यकताले नै नयाँ आविस्कार गर्छ भने झैँ कोरोना महामारीको समयमा हामीले प्रविधिको प्रयोगको महत्व अझ राम्रोगरी बुझ्न पायौँ र यसको आवश्यकता महसुस गरेका थियौँ”, उनले भने, “तत्कालीन समयमा पर्यटन क्षेत्रलाई प्रविधिमार्फत एकीकृत गर्नुपर्छ भन्ने सोचले हामी यसतर्फ केन्द्रित भएका हौँ।”

    हाल जोशी र उनको टिम, पर्यटन र प्रविधिमा राम्रो ज्ञान र सीप भएका  साझेदारसहित २७ जना इञ्जिनियर तथा अन्य कर्मचारीको समूहको सक्रियतामा ‘आर्य टेक्नोजोजी एण्ड म्यानेजमेन्ट प्रालि’मार्फत पर्यटन क्षेत्रलाई लक्षितगरी एकीकृत सफ्टवेयर विकासगरी सेवा प्रवाह गर्दै आएको छ। यसका लागि हालसम्म झण्डै रु २२ करोड लगानी भइरहेको उनले जानकारी दिए।

    images
    images

    उनका अनुसार यो सफ्वटेयर होटल, रेष्टुरेन्ट, ट्राभल, ट्रान्सपोर्ट र कार्यालय व्यवस्थापनका लागि लक्षित गरिएको छ। अहिले केही होटल तथा ट्राभल एजेन्सीहरुले यो सफ्टवेयर प्रयोगमा ल्याइसकेका छन् ।

    “पर्यटन क्षेत्र प्रविधिमैत्री भएन भने हामीले कैयौँ अवसर गुमाउँछौँ, खासगरी होटल, ट्राभल, ट्रेकिङ सम्बद्ध व्यवसायी एवं सरोकारवालालाई सहयोग पुगोस् भन्ने उद्देश्यले सफ्टवेयर विकास गरेका हौँ”, उनले भने। यो सफ्टवेयरले पुराना तथ्याङ्क खोज्न र व्यवस्थापन गर्न सहयोग गर्नुका साथै बुकिङ गर्न र कार्यालय व्यवस्थापन गर्न सहयोग पुग्ने उनको भनाइ छ। पछिल्लो समय मानिस अनलाइनमार्फत नै बुकिङ गर्ने चलन बढेको छ। व्यवसायीलाई पनि आफ्नो व्यवसाय एक क्लिकका भरमा जहाँ बसेर पनि सहजै पाउनसक्ने सुविधा यस सफ्टवेयरले दिने उनले उल्लेख गरे।

    उनका अनुसार टिमले तयार पारेको सफ्टवेयर काठमाडौँ, पोखरा, चितवन, बर्दियामा रहेका होटल, ट्राभल एजेन्सीले प्रयोग गरिरहेका छन्। केही पाँचतारे होटलसँग पनि सफ्टवेयर प्रयोग गर्नेसम्बन्धी छलफल भइरहेको छ। अहिले पनि केही पर्यटन क्षेत्रमा केही सफ्टवेयरहरु सञ्चालनमा आए पनि यो विशुद्ध नेपाली सफ्टवेयर भएको र तुलनात्मक रुपमा सस्तो पनि भएको उनको दाबी छ। उनका अनुसार एउटा कम्पनीले रु दुई लाखदेखि पाँच लाखसम्ममा यो सफ्टवेयर सञ्चालन गर्न सक्छन्। जबकि अन्य विदेशी सफ्टवेयर निकै महँगो हुन्छ।

    सफ्टवेयरको विशेषता के छ ?

    जोशीको कम्पनीले निर्माण गरेको यो सफ्टवेयर विशेषतःपर्यटन क्षेत्रका व्यवसायलाई प्रविधिमैत्री बनाउन केन्द्रित छ। पर्यटन व्यवसायका अकाउन्टिङदेखि कर्मचारी व्यवस्थापन र होटल बुकिङसम्मको सेवा यसैमार्फत पाउन सकिन्छ। त्यतिमात्रै होइन व्यवसायीले आफू अनुकूलको सेवा अर्थात् कस्टमाइज्ड सर्भिस पनि लिन सक्छन्। व्यवसायीले सम्पूर्ण सेवाको एक क्लिकका भरमा सूचना प्राप्त गर्न सक्छन्।

    जोशीका अनुसार यसले दक्ष कर्मचारीको अभावलाई केही हदसम्म पूरा गर्नसक्ने क्षमता राख्छ। कम्पनीसँग सम्बन्धित कागजात, सूचना तथा आवश्यक तथ्याङ्क पनि यसैमा सुरक्षित हुने भएकाले यो गोपनीयताका दृष्टिले पनि उपयोगी छ।

    उदाहरणका लागि होटल तथा रिसोर्टका लागि होटल म्यानेजमेन्ट सफ्टवेयरले कुशल व्यवस्थापनको सबै काम गर्छ। सफ्टवेयरमा दुई वटा मुख्य ड्यासबोर्ड हुन्छन्। एउटामा कर्मचारीको हाजिरी र बिदा स्वीकृतिदेखि सार्वजनिक बिदाको सूचना, कार्यालयका अन्य सूचना प्रवाह, कामको निर्देशन दिने, कार्यसूची निर्माण गर्ने, रिपोर्ट लिने तथा दिने र पेरोलको जानकारी हुन्छ।

    दोस्रो ड्यासबोर्डमा अकुपेन्सीदेखि हाउसकिपिङ, मर्मतसम्भार, रुम इन्भेन्ट्री व्यवस्थापनलगायत सबै जानकारी हुन्छ। यी सबैलाई सफ्टवेयरबाटै हेर्न र निर्देशन दिन सकिन्छ। ओटीए (अनलाइन ट्राभल एजेन्सी) व्यवस्थापन तथा च्यानल म्यानेजर, इनभेन्ट्री, लेखा व्यवस्थापन तथा प्रतिवेदन, वेबसाइट निर्माणजस्ता सेवाहरु एउटै सफ्टवेयरबाट प्राप्त गर्र्न सकिन्छ।

    ट्राभल, टुर, ट्रेकिङ एक्सपेडिसनका लागि ट्राभल म्यानेजमेन्ट सिस्टम निर्माण गरिएको छ। यसअन्तर्गत कार्यालय तथा कर्मचारी व्यवस्थापन, आइटिनेरी डिजाइन तथा डेभलपमेन्ट, खर्च अनुमान, बुुकिङ व्यवस्थापन, आपूर्ति तथा गु्रप व्यवस्थापन, यात्रुु बोक्ने गाडीहरुको जिपिएस ट्र्याकिङजस्ता महत्वपूर्ण सुविधा छन्।

    “होटलमा हाल प्रयोग भइरहेका सफ्टवेयरको तुलनामा हामीले विकास गरेका सफ्टवेयर निकै फरक छ, यो क्लाउड प्रविधिमा आधारित छ”, उनले भने, “अहिले होटलमा आवश्यकताअनुसार विभिन्न सफ्टवेयर प्रयोग भइरहेको छ। जुन झन्झटिला पनि छन्। तर हाम्रो सफ्टवेयरले एकीकृत सेवा दिने भएकाले सञ्चालन सस्तो र सहज दुवै छ।”

    जोशी नेपालमै नेपाली इञ्जिनियरले निर्माण गरेका सफ्टवेयरहरु आज विभिन्न मुलुकमा निर्यात भइरहेको उल्लेख गर्दै नेपालमा पनि यसको प्रयोग नेपालमा पनि गर्नुपर्ने बताए। “कतिपय साना होटल तथा ट्राभल एवं ट्रेकिङ एजेन्सीले अहिले पनि हस्तलिखित खाता वा एक्सेल सिटमै काम गरिरहेको अवस्था छ, जुन झन्झटिलो पनि छ”, उनले भने, “कम्पनीको सूचना तथा तथ्याङ्क लगानीकर्ताका लागि निकै ठूलो सम्पत्ति हो। यो सुरक्षित राख्नका लागि पनि हामीले विकास गरेको सफ्टवेयर उपयोगी छ।” उनले साना लगानीका होटलका लागि लक्षितगरी स्मार्ट होटल म्यानेजमेन्ट सोलुसन विकास गरेको बताए।

    जोशी पर्यटनसँग सम्बन्धित व्यावसायिक छाता संस्थाहरुले आफ्ना सदस्यलाई यस्ता सफ्टवेयरको प्रयोगमा प्रेरित गर्न आवश्यक रहेको बताउँछन्। उनी स्थानीय तहले पनि पर्यटन व्यवसायीलाई सफ्टवेयर प्रयोगमा प्रोत्साहन गर्न विभिन्न सुविधा दिन आवश्यक रहेको उनको बुझाइ छ। 

    – सिबी अधिकारी, रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend