काठमाडौंः शनिबार अन्धकारमा बिताएका उदयपुरबासी सोमबार पनि १७ घण्टा लामो अन्धकार सहन बाध्य भएका छन्। आइतबार राति करिबन १२ बजे चट्याङसँगै आएको हावाहुरी र वर्षाले विद्युत आपूर्ति अवरुद्ध भएपछि सोमबार दिउँसो ४ः४५ बजेसम्म उदयपुर अन्धकारमै थुनिएको हो।
नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रका अनुसार त्रियुगा नगरपालिका–६ जलजेलस्थित सबस्टेशनमा चट्याङले ट्रान्समिटर सहित विभिन्न उपकरणमा गम्भीर क्षति पुर्याउँदा विद्युत आपूर्ति अवरुद्ध भएको हो। क्षतिग्रस्त सबस्टेशन मर्मत गर्न १५ घण्टा लागेपछि मात्र विद्युत सुचारु गरिएको वितरण केन्द्र प्रमुख माधवप्रसाद यादवले जानकारी दिएका छन्।
चट्याङले सबस्टेशनको पावर हाउसमा गम्भीर क्षति गरेपछि रातिदेखि नै प्राविधिक टोली मर्मतमा खटिएको यादवले बताएका छन्।। ‘राति नसुती मर्मत कार्यमा जुट्यौँ,’ उनले भने, ‘तर एउटा आवश्यक सामान स्थानीय बजारमा नपाएर विराटनगरबाट मगाउनु पर्यो, जसले विद्युत सुचारुमा ढिलाइ भयो।’
सबस्टेशनमै क्षति पुगेकाले गाईघाट सदरमुकाम सहित पूरै उदयपुर जिल्ला १७ घण्टा लामो अन्धकारमा बस्नुपरेको अवस्था हो।
गर्मी मौसममा लामो समयसम्म विद्युत अवरुद्ध हुँदा सर्वसाधारण देखि सरकारी कार्यालय, बैंक तथा अनलाइन सेवा प्रदायक संस्था समेत प्रभावित भएका छन। विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरू बढी समस्यामा परेका छन्।
छ महिनापछि केही दिनअघि मात्र सञ्चालनमा आएको उदयपुर सिमेन्ट उद्योगसमेत विद्युत अवरुद्धको चपेटामा परेको छ।
उद्योगका निमित्त महाप्रबन्धक महेश साहका अनुसार बिहीबार १०ः४० बजे किल्न फायरिङ गरी उत्पादन थालिएको थियो। तर, १२ घण्टा नबित्दै विद्युत अवरुद्ध भई उत्पादन रोकिएको साहले बताएका छन्।
‘हिजो राति नै पुनः फायरिङको तयारी सकिएको थियो,’ साहले भने, ‘तर सबस्टेशनमा चट्याङ लागेपछि फेरि काम रोकियो।’ उनका अनुसार पहिलो २४ घण्टामा उद्योगले २५० मेट्रिक टन क्लिङ्कर उत्पादन गरेको थियो भने दोस्रो २४ घण्टामा विद्युत अवरुद्धका कारण मात्र १५० मेट्रिक टन क्लिङ्कर उत्पादन हुन सकेको छ।
साहका अनुसार एकपटक फायरिङ गर्दा कच्चा पदार्थ, डिजेल र अन्य सामग्रीमा करिब डेढ लाख रुपैयाँ खर्च हुन्छ। विद्युत नियमित नभएकाले उद्योगलाई पटक–पटक लाखौँ रुपैयाँ घाटा लाग्ने गरेको उनले बताएका छन्।। ‘विद्युत नियमित नभएसम्म उद्योग सञ्चालन कठिन छ,’ साहले भने।




.gif)





