काठमाडौं । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ ।अस्पतालको कुपन्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरे । नर्सिङ, अनमी, मिडवाइफ तथा चिकित्सकको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ ।
बिरामीलाई कुनै असर नपुर्याई प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृसंस्था युएसएडमार्फत अमेरिकी च्यारिटी वन हार्ट वर्ल्डवाइडले आर्थिक सहयोग गरेको हो ।ल्याबले देशैभरका मातृ शिशु उपचारमा संलग्न जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए ।
ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान् जनशक्ति उत्पादनमा ल्याबले महत्त्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे ।“यो ठूलो कुराजस्तो नदेखिएला,” उनले भने, “तर मातृ शिशुको सुरक्षामा यसले पहिलो महत्त्वपूर्ण सुरुवात गरेको छ ।”अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताए ।
“हामी अब बाँकी ६ प्रदेशमा पनि मातृशिशुको विशिष्टीकृत उपचार र जनशक्ति विकासका काम क्रमैसँग अघि बढाउनेछौँ,” उनले भने ।मन्त्री पौडेलले मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत घोषणा गरे ।२०१६ सालमा स्थापित अस्पतालले हाल झन्डै पाँच सय शय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ ।
अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवाअन्तर्गत निःसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा सुरु गरेको निर्देशक श्री अधिकारीले बताए । पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको निर्देशक अधिकारीले बताए ।
बर्थिङ सेन्टरको क्षमता वृद्धि
अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गरेका छन् । यसअघि अस्पतालमा आठजनाको क्षमता रहेकामा अब थप चारजनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ । दुई मिडवाइफ अधिकृत थपिएपछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए । प्रसूति सेवामा सरकारी विशिष्टीकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा यथेष्ट सेवा दिन सकिएको थिएन । अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ ।




.gif)





