काठमाडौंः काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा शनिबार बेल्जियम प्रस्थान गर्नुभएको छ । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरुबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उदेश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो ।
उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरुको अध्ययन भ्रमण गर्ने कार्यतालिका छ । उपप्रमुख डंगोल बेल्जियमपछि अदालतको अवलोकन भ्रमणका लागि लक्जेम्बर्ग जाने कार्यक्रम छ । त्यहाँ पनि उहाँले युरोपियन युनियनको अभ्यास सँगै त्यहाँको विवाद निरुपणका लागि भएका र गरेका प्रयासहरुका बारेमा अनुभव लिने कार्यक्रम छ । भ्रमणकै सिलसिलामा त्यहाँको स्थानीय सरकारसँग पनि विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
‘बेल्जियको अवलोकन भ्रमणका क्रममा त्यहाँको संसदको पनि अवलोकन गर्ने र काठमाडौं महानगरपालिकाले गरेका असल अभ्यासबारे अनुभव आदनप्रदान गर्ने कार्यक्रम छ,’ डंगोलले भन्नुभयो, ‘यो भ्रमणका क्रममा त्यहाँका सरकारका प्रतिनिधि, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरुसँग औपचारिक भेटघाटको कार्यक्रम छ ।’
बेल्जियममै युनेस्कोसँग त्यहाँका सम्पदा र काठमाडौं महानगरपालिकाका सम्पदा संरक्षणका लागि गरेका प्रयासहरुका बारेमा अनुभव आदनप्रदान गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । ‘काठमाडौं महानगर युनेस्को क्रिएटिभ सिटी पनि हो,’ उहाँले भन्नुभयो, ‘त्यहाँ नेपाली कला, सभ्यता, संस्कृति, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबारे गहन छलफल गर्ने तयारी छ । कला, संस्कृति र नवीन उद्योगसम्बन्धी नीति तयार गरी ’स्क्रिन पर्यटन’को सम्भावनालाई समेत साकार बनाउन के–कस्तो पहल गर्न सकिन्छ त्योबारेमा पनि म भ्रमणका क्रममा छलफल गर्ने छु ।’




.gif)





