images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • बागलुङका व्यवसायी सापकोटा दूध बेचेर मासिक...

बागलुङका व्यवसायी सापकोटा दूध बेचेर मासिक रु एक लाखसम्म बचत गर्दै

बागलुङका व्यवसायी सापकोटा दूध बेचेर मासिक रु एक लाखसम्म बचत गर्दै

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौँ ।  विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झर्नुभएका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुनुहुन्छ ।

    images
    images

    बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गर्नुभएको उहाँ यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आउनुभएको छ । 

    निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लाग्नुभएका सापकोटा बन्नुभएको छ । बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक एक सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ । सापकोटाले उत्पादन गर्नुभएको दूध आफैँ बजारीकरण गर्दै आउनुभएको छ । 

    images
    images

     “भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि पुग्दा नेपालीले गाई पालेर दूध बिक्री गर्दै आएको देखेको थिएँ, त्यहीँबाट मैले गाईभैँसीपालनमा चासो दिएको थिएँ, विसं २०६७ मा जन्मथलो मालिकाबाट तीनवटा भैँसी र एउटा गाई लिएर अमबोट आएपछि दुईवटा भैँसी थपेर फार्म स्थापना गरेँ, अहिले फार्मको पूर्वाधारसहित रु एक करोड लगानी पुगिसक्यो”, उहाँले भन्नुभयो, “निरन्तर मेहनत र पशुपालन व्यवसायको अनुभवका कारण आज सफल भएको छु, अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छु ।”

    व्यवसायी सापकोटाले गाई तथा भैँसीको खरिद बिक्रीसमेत गर्दै आउनुभएको छ । उहाँको फार्ममा ५२ सम्म गाईभैँसी भएको सुनाउनुभयो । उहाँका दुईवटा ठूला गोठमा गाईभैँसी  छन् । दैनिक एक सय ६० लिटर दूध उत्पादनपश्चात बजारीकरण गर्दै आउनुभएका सापकोटा मासिक रु पाँचदेखि छ लाखसम्मको आम्दानी र मासिक रु एक लाखसम्म बचत गर्दै आएको बताउनुहुन्छ । 

    पशुपालनमा आम्दानी भए पनि खर्च धेरै हुने उहाँको अनुभव छ । पशुपालनमा जोखिम बढी हुने भएकाले लामो अनुभव र प्राविधिक सहयोगले मात्र सफल भइने सापकोटाको भनाइ छ । “दूधको बजारीकरणमा समस्या छैन, बागलुङ बजारको घरदैलो र फार्मबाटै बिक्री हुन्छ, हामीले घरदैलोमा पुगेर दूध पुर्याउँदै आएका छौँ, मैले ड्राइ सिजनमा बढी दूध बिक्री गर्दै आएको छु”, सापकोटाले भन्नुभयो, “भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र बागलुङ नगरपालिकाले प्राविधिक रूपमा सहयोग गरिरहेका छन्, प्याक्ट परियोजनामार्फत विसं २०७३ मा रु १० लाख अनुदान पाएर एउटा आधुनिक गोठ बनाएको थिएँ, निरन्तरता भएमा सहयोग पनि आउँछ, पछिल्लो समय फार्म स्थापनाका लागि गरिएका राज्यका प्रोत्साहनले किसान हौसिए पनि टिक्न नसकेको पाइयो ।”

    उहाँले उत्पादन र निरन्तरताका आधारमा अनुदान दिँदा मात्र वास्तविक किसानले लाभ लिने बताउनुभयो । उहाँले बागलुङ बजारसहित पर्वत र म्याग्दीबाट समेत दूधको माग आउने बताउनुभयो । अहिले बजारमा दूधको मूल्य रु एक सय २० प्रतिलिटर छ । उहाँ रोजगारीका सिलसिलामा १० वर्ष भारतको मेघालयमा समेत जानुभएको थियो ।   

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend