images

२०८३ आश्विन १९ गते

images
images
images

तरकारीखेतीबाट सात लाख आम्दानी

तरकारीखेतीबाट सात लाख आम्दानी

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा लिनुभएको छ । वर्षमा सार्कीले रु सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आउनुभएको छ । तरकारीखेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धान्नुभएको  छ ।

    images
    images

    अरुको जग्गामा बस्दै आउनुभएका सार्कीले तरकारीखेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गर्नुभएको छ । “तरकारीखेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ”, सार्कीले भन्नुभयो, “जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारीखेतीले धानिएको छ ।”

    तरकारीखेती नै कमाइ गर्ने एकमात्र माध्यम रहेको सार्की बताउनुहुन्छ । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारीखेती गर्नुहुन्थ्यो । बगरखेती गर्दै जाँदा व्यावसायिक खेती गर्ने हिम्मत जागेको उहाँ बताउनुहुन्छ । आफन्तबाट केही रकम सापटीका रूपमा लिएर तरकारीखेती गरेको विगत सम्झिँदै सार्की भन्नुहुन्छ, “पहिलो वर्षमै गतिलो आमदानी हात लागेपछि त्यो रकम तिर्न भ्याएँ, बचेको रकम तरकारीखेतीमै लगाएर काम गर्दै गए”, उहाँ भन्नुहुन्छ, “त्यसपछि पैसाका लागि कसैलाई गुहार्नुपरेको छैन ।”

    images
    images

    कृषि ज्ञान केन्द्रबाट सार्कीले व्यावसायिक तरकारीखेतीसम्बन्धी तालिम लिनुभएको छ । तालिम लिएपछि तरकारीखेती गर्ने आधुनिक तौरतरिका सिकेर उहाँ निपुण हुनुभएको छ । तरकारीमा वडामै एक्लो किसान भएकाले नगरपालिकाबाट पनि सार्कीले टनेल अनुदानमा प्राप्त गर्नुभएको छ । प्लाष्टिकको टनेलमा उहाँले तरकारी उत्पादन गर्दै आउनुभएको छ ।दुई दशक भारतमा काम गर्नुभएका सार्की तरकारीखेतीबाटै भारतको भन्दा तेब्बर बढी कमाइ हुन थालेपछि स्वदेशमा काम गर्न थालेको बताउनुहुन्छ । कृषि कार्यमा गतिलो कमाइ हुने भएकाले भारतमा रहेका छोरालाई आफूसँगै सघाउन घर बोलाउने सोच रसार्कीको छ । बाह्रै महिना तरकारीखेती गर्दै आउनुभएका उहाँको बारीमा अहिले गोँलभेडा, बन्दा, बोडी, खुर्सानी, मुला, भाण्टा, हरियो मटर लटरम्म फलेको छ ।

    हरियो खुर्सानीमात्र एक महिनामा रु २० हजारको बेचेको सार्की बताउनुहुन्छ । उहाँको बारीमा गोँलभेडामात्र रु ५० हजार बढीको उत्पादन भएको छ । सार्की लौका, काँक्रा, तितेकरेला, फर्सीलगायत रोप्ने तयारीमा हुनुहुन्छ । श्रीमान्श्रीमती दुवैले काम गर्न नसक्ने भएकाले तीन जना दैनिक ज्यालादारीमा कामदार राखेर काम गराउँदै आएको उहाँको भनाइ छ ।उत्पादित तरकारी भने स्थानीय बजारमा सहज रूपमा बिक्री हुने गरेको छ । बजार खोज्दै हिँड्नु नपरेको सार्की बताउनुहुन्छ । मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उहाँले बढी जोड दिँदै आउनुभएको छ । भविष्यको योजना सुनाउँदै सार्कीले तरकारीखेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने सोच रहेको बताउनुभयो । 

    “अहिले वर्षमा रु ६ लाखदेखि रु सात लाखसम्म आम्दानी हुँदै आएको छ”, उहाँले भन्नुभयो, “त्यसलाई बढाएर दोब्बर पार्ने योजना छ ।” अनुदानमा सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्न पावरटिलरको व्यवस्थाका लागि सार्की माग गर्नुहुन्छ ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend