सुन्दरबजार । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवा डाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ ।
पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका–२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो । परेवाडाँडाको खड्का गाउँमा रहेको आहाले खेल मैदानमा गरिएको सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ तार्कुटारका कुम राज परियारको गोरु प्रथम भएको छ ।
यस्तै सुन्दरबजार–२ परेवा डाँडाका प्रकाश पन्तको गोरु दोस्रो तथा भानु नगरपालिका–१० दुधेकुनाका विष्णु रावलको गोरु तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम हुने गोरुधनीलाई १५ हजार, दोस्रो हुने गोरु धनीलाई १० हजार र तृतीय हुने गोरु धनीलाई पाँच हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजक देवभूमि युवा क्लबका अध्यक्ष महेश परियारले जानकारी दिए ।
लमजुङको परेवा डाँडामा विगत केही वर्षदेखि निरन्तर रुपमा पुस १५ को अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिँदै आएको छ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगितामा लमजुङ र तनहुँका गरी २० गोरुलाई सहभागी गराइएको थियो। रासस




.gif)





