काठमाडौँ – चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस ११ देखि १५ सम्म १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ।
सफारी पर्यटन प्रवर्द्धनका साथै चितवनलाई महत्वपूर्ण पर्यटन गन्तव्य स्थलका रूपमा चिनाउने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
क्षेत्रीय होटल संघ चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा सौराहामा महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवलाई विगतभन्दा पृथक र भव्य बनाइने क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष गङ्गा गिरीले बताए। चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकलाई प्रवर्द्धनमा महोत्सव उपयोगी हुने उनले उल्लेख गरे। गिरीका अनुसार महोत्सवका कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा वृद्धि हुने गरेको छ।
महोत्सवअन्तर्गत हुने विभिन्न गतिविधिमा निजीस्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुनेछन्। महोत्सवका लागि करिब रु एक करोड ३५ लाख खर्च हुने जनाइएको छ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले हात्ती महोत्सव पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको र यसलाई बजारीकरण गर्न बोर्ड लगायत सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिए।
होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले वाइल्ड लाईफ सफारीका लागि प्रसिद्ध चितवनको समग्र पर्यटन विकासमा महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे। सौराह पर्यटन प्रवर्द्धन समितिका संयोजक भेषराज दुवाडीले सौराहाको पर्यटनलाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउन महोत्सव सान्दर्भिक हुने बताए।
हात्ती महोत्सवलाई सफल बनाउन तीनै तहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको सहयोग रहेको छ। विस २०५५ देखि महोत्सव निरन्तर भइरहेको छ। रासस




.gif)





