images

२०८३ आश्विन १७ गते

images
images
images

बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • राँझा (बाँके), १० असोजः बाँकेमा दुइदिनदेखि जारी अविरल वर्षाको कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । 

    images
    images

    राप्ती नदीले राप्ती सोनारीको २ नं वडादेखि नरैनापुरसम्मकै तल्लोतटीय क्षेत्रका बासिन्दालाई वर्षेनी जोखिम राख्दै आएको छ । कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका–७ नयाँवस्ती फरेदागाउँका शङ्कर यादवले बताएका छन् ।

    “अविरल वर्षासँगै राप्ती नदीमा बाढी आइरहेको छ,बाढी रोकथामको लागि स्थायी तटबन्ध नभएका कारण राप्ती नदीको जोखिम बढ्दै गएको छ”, उनले भने, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षाद्को समयमा राम्ररी निदाउन सकिएको छैन ।”

    images
    images

    उनका अनुसार, ठूलो बाढी आउँदा राप्ती नदी बस्तीमा पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका करिब एक दर्जन वस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन् । राप्तीको तल्लोतटीय क्षेत्रमा नदीले दिनहुँजसो जमिन कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको स्थानीयवासी यादवको भनाइ छ ।

    तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्तीमा जोखिम मडारिएको नरैनापुर गाउँपालिका–६ गङ्गापुरका अगुवा सोहनलाल यादवले बताएका छन् ।

    “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले केही वर्षअघि भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीब्र पारेको छ”, यादवले भने, “नदी नियन्त्रण गर्ने स्थायी तटबन्ध नभएका कारण ठूलो बाढी आउनासाथ नदी बस्तीमा पस्ने खतरा बढेको छ ।”

    राप्ती नदीले वर्षायाम सुरु हुनासाथ राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगञ्ज र राजपुर क्षेत्र र वडा नं ३ को बैजापुरका विभिन्न टोलमा डुबान र कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मिनकुमार चौधरीले बताएका छन् । 

    “नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ,” वडाध्यक्ष थारुले भने, “अहिले मौसमी सूचनाअनुसार भएको वर्षाद्सँगै नदीमा पानीको सतह बढ्दै गएको छ, यसबाट सुरक्षित रहन नागरिकलाई सचेत बनाउने काम गरिरहेका छौँ ।”

    राप्ती नदीमा ठूलो बाढी आउँदा मानव बस्तीसमेत जोगाउन कठिन हुने भएकोले गाउँवस्तीमा सजक हुन सूचित गर्दै आएको वडाध्यक्ष थारुले बताएका छन् ।

    राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले अविरल वर्षाको कारण हुनसक्ने बाढीजन्य विपद सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको बताएका छन् । 

    भारी वर्षा पछि हुन सक्ने बाढी र डुबान व्यवस्थापनलाई मध्यनजर गरेर राप्ती सोनारीमा हाल करिब एक हजार ५०० देखि दुई हजार जनासम्मलाई राख्न सकिने क्षमता रहेका सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष पौडेलले बताएका छन् ।

    उनका अनुसार, राप्ती सोनारी गाउँपालिकामा अहिले पाँचवटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् भने थप दुईवटा भवन निर्माणको क्रममा छन् । सञ्चालनमा रहेका पाँच आश्रयस्थलमा करिव दुई हजार जनासम्मलाई राख्न सक्ने क्षमता रहेको छ । भारी वर्षालाई मध्यनजर गर्दै ती आश्रयस्थललाई तयारी अवस्थामा राखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend