काठमाडौँ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्मको एक पोस्टर फष्टलुक्सको रूपमा सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो । फिल्मका निर्देशक वसन्त निरौला हुन् ।फस्र्टलुकमा पाँच पण्डव अर्थात फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिक्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन् । पोस्टरले क्यारेक्टर प्रस्तुत गरेको छ । पोस्टरअनुसार हरिवंश युधिस्ठिर बनेका छन् । भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देख्न सकिन्छ ।
फिल्म पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । फिल्मले पूरै साउन्ड डल्बी एटमसमा हुनेछ । दर्शकले ‘पाँच पाण्डव’ हेर्दा फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताए ।काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सिता न्यौपाने लगायतको पनि अभिनय देख्न सकिन्छ ।फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ, निर्मातामा काली रानी श्रेष्ठ हुन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ ।फिल्ममा श्याम तामाङको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन पोखरेलको संगीत छ । ‘पाँच पाण्डव’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्दैछ ।




.gif)



