बुटवल। रुपन्देहीको तिनाउ नदीले सतर्कताको तह पार गरेको छ। निरन्तर वर्षा भइरहेकाले नदीको जलसतह अझै बढ्दो क्रममा रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार तिनाउ नदी आसपासका नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ। तिनाउ आसपासका क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
यसैबिच, बुटवलस्थित तिनाउ पुलमुनि बस्दै आएका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पुलमुनि बस्दै आएकी सुमित्रा दमाईसहित विभिन्न परिवारका २० जनालाई कान्ति माध्यमिक विद्यालयमा सारिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बताए।बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले नदीको जलसतह बढ्दै गएपछि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए।उनका अनुसार नदी आसपास तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको छ।




.gif)



