images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सम्भावित भारी वर्षा र बाढीको जोखिम...

सम्भावित भारी वर्षा र बाढीको जोखिम मध्यनजर गर्दै घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी

सम्भावित भारी वर्षा र बाढीको जोखिम मध्यनजर गर्दै घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिन सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना (अपडेट) दिने भएको छ। आगामी असोज ८, ९ र १० गते देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरूप पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको हो।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ। सम्भावित बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने जानकारी उनले दिए।

    images
    images

    अवस्थाबारे स्पष्ट पार्दै कार्यकारी प्रमुख उप्रेतीले भने, ‘पूर्वसूचना प्रणालीलाई हामी घण्टा–घण्टामा अद्यावधिक गर्ने र अवस्था निगरानी गर्ने काम गर्छौँ। कुनै ठाउँमा बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले के प्रभाव पार्छ भनेर बाढी पूर्वानुमान महाशाखासँग समन्वय भइरहेको छ। पानी कति परिरहेको छ भन्ने विवरण हामी रियल टाइममा हेर्छौँ। नागरिकको मोबाइलमा आउने एसएमएस सन्देशलाई गम्भीरतापूर्वक हेरिदिनुहुन अनुरोध गर्दछु।’समुद्रमा बन्ने ठूलो आँधी प्रणाली र त्यसको दिशा परिवर्तनको सम्भावनालाई प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको छ। मौसम प्रणाली तीव्र गतिमा फेरिन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई मध्यनजर गर्दै ‘रेड अलर्ट’ जारी गरिएको छ। मध्यपहाडी र तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानमा ओर्लिन आग्रह गरिएको छ। त्यसैगरी ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न र हेलिकप्टर उडानको पूर्वतयारीमा सतर्क रहन चेतावनी जारी गरिएको छ।

    विपद्को जोखिम बढेमा राजमार्ग तथा सडकहरूमा सवारी आवागमन पूर्ण रूपमा निषेध गरिन सक्ने प्राधिकरणले जनाएको छ। शुक्रबार र शनिबार यात्रुहरूलाई अतिआवश्यक नपरी यात्रा नगर्न र यातायात व्यवसायीलाई पनि सेवा सञ्चालन नगर्न आग्रह गर्ने तयारी गरिएको छ। पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी देशका मुख्य राजमार्गहरूमा तत्काल सडक खुलाउन डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएको छ।वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले खेतमा पाकेकोधानबाली र भण्डारण गरिएको अनाज संरक्षणमा विशेष सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरिएको छ। यस सम्बन्धमा कृषि मन्त्रालयमार्फत छुट्टै निर्देशन जारी भइसकेको छ।

    images
    images

    प्राधिकरणले बाढीका बेला भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालमा सामग्री राख्न आफ्नै ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ। बाढीले बगाएर ल्याएका दाउरा वा अन्य सामग्री सङ्कलन गर्न खोलामा पस्ने प्रवृत्ति जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधि नगर्न उप्रेतीले आग्रह गरेका छन्। हाल देशभरका सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिनुका साथै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू सम्मिलित कमान्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तीव्र पारिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend