images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँमा सवारी...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँमा सवारी चाप, प्रहरी सडकमै

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँमा सवारी चाप, प्रहरी सडकमै

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडकखण्डमा सवारीको चाप निकै बढेको छ। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब थपिएपछि मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई तीव्रता दिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफैँ सडकमा खटिएर सवारी आवागमन सहज बनाउन जुटेका छन्।

    images
    images

    सडकमा सवारीको लामो लाइन र साँघुरा वैकल्पिक मार्गलाई ध्यानमा राख्दै प्रशासनले साना र ठुला सवारीका लागि छुट्टाछुट्टै रुट निर्धारण गरेको छ। १४ सिटभन्दा कम क्षमताका साना सवारीका लागि हेटौँडाबाट काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र काठमाडौँबाट फर्किँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदीको बाटो तोकिएको छ। यी हलुका सवारीलाई असोज १६ गतेदेखि लागू हुने गरी २४ सै घण्टा आवतजावत गर्न दिने निर्णय भएको छ।ठुला यात्रुवाहक तथा मालवाहक सवारीका लागि काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्तिलोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभुवन राजपथमा रहेको कमजोर बेलिब्रिजका कारण इन्धन तथा भारी मालवाहक सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।

    मंगलबार काठमाडौँबाट छुटेका करिब १५० वटा सवारी साधनहरू सरकारी निर्णय हुनुअघि नै पालुङ पुगेर रोकिनाले प्रहरीले तिनलाई सुरक्षा निगरानीमा ‘स्कर्टिङ’ गरेर काठमाडौँतर्फ ल्याइरहेको छ। पालुङमा रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाएपछि मात्र काठमाडौँबाट अर्को समूहका सवारीलाई सो मार्गमा प्रवेश अनुमति दिइने व्यवस्था मिलाइएको छ।प्रहरी निरीक्षक विष्टका अनुसार बिच-बिचमा ट्राफिक प्रहरी जनशक्ति परिचालन गरी ठाउँ-ठाउँमा सवारी साधनहरूलाई ‘होल्ड’ गर्दै र समूह बनाएर गन्तव्यतर्फ पठाउने ‘कन्भे’ कार्य भइरहेको छ। ‘बिच बाटोमा ट्राफिक राखेर व्यवस्थापन गरिरहेका छौँ,’ विष्टले भने, ‘हिजो निर्णय हुनुअघि नै काठमाडौँबाट छुटेका झन्डै १५० गाडी पालुङमा रोकिएका थिए। अहिले ती गाडीलाई स्कर्टिङ गरेर ल्याउने काम भइरहेछ। त्यहाँका गाडी ल्याइसकेपछि मात्रै यताबाट अर्को लट छोड्छौँ।’उनका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै १४ सिटे साना गाडी २४ सै घण्टा सहज रूपमा चलिरहेका छन्। मालवाहक ठुला गाडीलाई पालुङ हुँदै पृथ्वी राजमार्ग तर्फ पठाइएको छ। भीमफेदीबाट आउने गाडीहरूलाई उनीहरूकै सहजताका लागि केही समय रोक्दै, समूह बनाउँदै र स्कर्टिङ गर्दै लगिएको हुनाले बीच-बीचमा केही रोकावट भएको उनले बताए।

    images
    images

    सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौँडा–काठमाडौँ यात्रा अहिले पाँच घण्टासम्म लम्बिएको छ। प्रहरीले एम्बुलेन्सका साथै ग्यास र पेट्रोलियम पदार्थ बोकेका अत्यावश्यक सेवाका सवारीसाधनलाई विशेष प्राथमिकता दिएर काठमाडौँसम्म पुर्‍याउने व्यवस्था मिलाएको छ। विपद्का कारण सडक जटिल बनेपछि प्रहरी अधिकारीहरू निर्देशनमा मात्र सीमित नरहेर स्वयं सडकमा ओर्लेर व्यवस्थापनमा खटिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend