काठमाडौं । सञ्चालनमा रहेका अधिकांश बैंकहरुले दसैँ अगावै लाभांश वितरण गर्नेगरी तयारी थालेका छन् ।बैंकहरुले लेखापरीक्षण प्रतिवेदन तयार गरी दसैँ अगावै साधारणसभा सम्पन्न गर्नेगरी तयारी थालेका हुन् । अहिले आधा दर्जन बैंकहरुको लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि राष्ट्र बैंक पुगिसकेको छ ।कुनै पनि संगठित व्यवसायिक संस्थाले प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । त्यसरी साधारणसभा गर्नुअघि वार्षिक लेखापरीक्षण गराउनुपर्छ ।बैंक तथा वित्तीय संस्थाको हकमा भने यस्तो लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत गराउनुपर्छ । स्वीकृत प्रतिवेदनका आधारमा मात्रै बैंक सञ्चालक समितिले लाभांशसम्बन्धी निर्णय गर्नुपर्ने नियामकीय व्यवस्था छ ।
राष्ट्र बैंकका अनुसार अहिले नबिल बैंक, एभरेष्ट बैक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सानिमा बैंकले वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक सुपरिवेक्षण विभागमा पठाएका छन् । पूर्वाधार बैंकको रुपमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि विवरण पठाएको राष्ट्र बैंकले जनाएको छ ।यो वर्ष दसैँ असोजको अन्तिमबाट सुरु हुन्छ । अधिकमासका कारण दसैँ सामान्यभन्दा ढिलो हुने भएपछि यही अवधिमा साधारणसभा सम्पन्न गरी लाभांश वितरण गर्ने बैंकहरुकाे तयारी छ । यसका लागि असोज पहिलो सातासम्म साधारणसभा बोलाइसक्नुपर्ने अवस्था छ ।
बैंकहरुको ध्यान नगद लाभांशमा
नेपाल राष्ट्र बैंकले यतिबेला बैंक तथा वित्तीय संस्थाको पुँजीकोष अनुपात कायम गर्न अभिमोच्य अग्राधिकार शेयरको स्वीकृति दिँदै आएको छ । चालु आवको मौद्रिक नीतिले आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थालाई हकप्रद शेयर निष्कासनको अनुमति दिने व्यवस्था गरेको छ ।त्यसैले यसपटक बैंकहरुले बोनस सेयर भन्दा नगद लाभांशलाई प्राथमिकतामा राखेको बैंकर्सहरु बताउँछन् ।त्यसो त अहिलेसम्म दुई विकास बैंकले आव २०८२/८३ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांशको घोषणा गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यो वर्ष वाणिज्य बैंकहरुले अधिकतम ३८ प्रतिशतसम्म लाभांश दिनसक्ने अवस्था रहेको वित्तीय विवरण प्रस्तुत गरेका छन् । एभरेष्ट बैंकले ३८.३२ प्रतिशत, सिद्धार्थ बैंकले २६.१५ प्रतिशत, सानिमा बैंकले २०.८५ प्रतिशत, नबिल बैंकले १९.१० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९.०९ प्रतिशत लाभांश दिने क्षमता प्रस्तुत गरेका छन् ।त्यस्तै, नेपाल बैंकले १५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकले १२.०२ प्रतिशत, नेपाल एसबिआई बैंकले ११.०४ प्रतिशत लाभांश दिने क्षमता प्रस्तुत गर्दा प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकको लाभांश क्षमता एकल अंकमा सीमित रहेको छ ।प्रभु बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने यो वर्ष लाभांश निवरण गर्न सक्ने अवस्था देखिएको छैन ।




.gif)





