images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • पहिला काम, अनि मात्रै सम्मान’ :...

पहिला काम, अनि मात्रै सम्मान’ : ५०० दिनभित्र सुकुम्बासीलाई लालपुर्जा दिने मन्त्री रावलको प्रतिबद्धता

पहिला काम, अनि मात्रै सम्मान’ : ५०० दिनभित्र सुकुम्बासीलाई लालपुर्जा दिने मन्त्री रावलको प्रतिबद्धता

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौं ।   सामान्य प्रशासन तथा भूमिसुधार मन्त्री प्रतिभा रावलले देशैभरिको सुकुम्बासी समस्या ५०० दिनभित्र समाधान गर्ने घोषणा गरेकी छन् । कञ्चनपुरमा स्थानीय सुकुम्बासी बस्तीका बासिन्दाहरूलाई सम्बोधन गर्दै उनले सरकार गठन भएको पहिलो दिनदेखि नै आफू यसै कार्यमा लागिपरेको बताइन् । सम्बोधनका क्रममा मन्त्री रावलले नेताहरूलाई काम नगरी जनताले सम्मान गर्ने प्रवृत्तिको विरोध गरिन् ।आफूलाई स्वागत गर्न तयार पारिएको अबिर र खादालाई अस्वीकार गर्दै काम गरेपछि मात्रै सम्मान थाप्ने बताइन् । 

    images
    images

    उनले आफ्नो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) वा अन्य कुनै पनि दलका नेतालाई काम पुरा नभई सम्मान गर्न हतार नगर्न आग्रह गरिन् । सुकुम्वासीमा रहेको विस्थापनको त्रासलाई सम्बोधन गर्दै मन्त्री रावलले कसैलाई पनि बिना विकल्प नउठाइने आश्वासन दिएकी छन् । मन्त्री रावलले सुकुम्बासी र सहकारी पीडितको समस्या सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै ५०० दिनभित्र लालपुर्जा वितरणको काम सम्पन्न गर्ने लक्ष्य सुनाइन् । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई प्रक्रिया पुर्‍याएर भूमिको मालिक बनाइने उनको दाबी छ ।  मन्त्री रावलले अर्को पटक आउँदा काम सम्पन्न भएको खुसीयालीमा मात्र अबिर र खादा साटासाट गर्ने बताइन् ।

    रावलले भनिन्, ‘तपाईँहरूको समस्या समाधान गरेर आएपछि मात्र म अबिर र खादा लगाउँछु । काम नगरी सम्मान लिनुको कुनै अर्थ छैन । डोजर लगाइदिने पो हुन् कि भन्ने त्रास नपाल्नुस्, कानूनसम्मत तरिकाले जसले लालपुर्जा पाउनुपर्ने हो, उहाँहरूले पाउनुहुन्छ। केही जग्गाहरू नकारात्मक सूचीमा परेको भए पनि नीतिगत परिवर्तन गरेर भए पनि समाधान खोजिन्छ । विषय जटिल र संवेदनशील छ, कतिपय कानूनी अड्चनहरू पनि छन् । तर हामी ‘डे वान’ देखि यसमा खटिएका छौँ । यो विषयलाई कसैको ‘चुनावी फण्डा’ बन्न दिने छैनौँ । सरकारले काम गरिरहेको छ, अबको केही समय धैर्य धारण गरिदिनुहोला ।’

    images
    images

    उनको सम्बोधन जस्ताको त्यस्तै-

    तपाईँहरूले भोगिरहेको समस्या, तपाईँहरूलाई हामी नेपाल सरकारले तपाईँको हकमा के गरिरहेका छौँ, कति चाँडो यो समस्या समाधान हुन्छ भनेर म तपाईँहरूलाई बताउन र तपाईँका कुरा सुन्न आएको।

    अघि नै एकजना सरले ‘किन उभिएको ? हामीले तपाईँलाई सम्मान गरेको हो, बस्नुपर्छ’ भन्दै हुनुहुन्थ्यो । कहिलेकाहीँ कमिकमजोरी हामी पनि गर्छौँ के ।

    तपाईँहरूकोमा जति पनि मन्त्री, जति पनि नेताहरू आउनुहुन्छ, अबिर खादा लगाइदिन हतार नगर्नुस् । उहाँहरूलाई सम्मान दिन हतार नगर्नुस् । समस्या समाधान गरेर आएपछि म तपाईँहरूको अबिर खादा लगाउँछु ।

    त्यही भएर कुनै पनि नेता, चाहे त्यो राष्ट्रिय स्वतन्त्र पार्टीकै किन नहोस्, सम्मान दिन हतार नगर्नुस् । पहिला तपाईँहरूको यत्रो वर्षौँदेखि भोगिरहेको समस्याको समाधान हुनुपर्छ। त्यसपछि बल्ल त्यो नेताले, त्यो मन्त्रीले तपाईँहरूले दिएको खादा, तपाईँहरूले दिएको अबिर, तपाईँहरूले दिएको फूल उसले बल्ल डिजर्भ गर्छ । बल्ल उसले त्यो लायक हुन्छ लिनलाई ।

    तपाईँहरूको समस्या समाधान भएको दिन म आउँछु । त्यो दिन सँगसँगै हामी पनि तपाईँहरूलाई अबिर लगाइदिन्छौं । तपाईँहरूले पनि मलाई अबिर लगाउने हो । त्यही भएर पहिला नेपाल सरकारलाई तपाईँहरूको हकमा काम गर्न दिनुस् । यसरी सम्मान गर्न हतार गर्ने होइन कसैलाई पनि ।

    मलाई यहाँ मागपत्र पनि बुझाइसक्नु भएको छ र यो विषयमा हाम्रो महिला समिति, यहाँको जिल्ला समिति, भूमि समस्या समाधान समितिले काम पनि गरिरहेको छ, यो विषयमा पनि मैले यहाँबाट अपडेट लिएको छु । विषय जटिल छ, संवेदनशील छ। कतिपय कानूनी अड्चन, एउटै खालको समस्या छैन, विभिन्न खालका समस्याहरू छन् । विभिन्न खालका समस्यालाई विभिन्न तरिकाले समाधान गर्नुपर्ने आवश्यकता छ ।

    त्यही भएर अलिकति समय लाग्छ । मैले हजुरहरूलाई यहाँ आएर किन भनेँ भन्दा हजुरहरूको त्यो त्रासको वातावरण नहोस् । हजुरहरूलाई हजुरले बसेको ठाउँबाट कसैले पनि उठाउन सक्दैन । त्यही भएर तपाईँहरू एउटा कुरामा के ढुक्क हुनुस् भने, जसले लालपुर्जा पाउनुपर्ने हो कानून सम्मत तरिकाले, उसले लालपुर्जा पाउँछ । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन अव्यवस्थित बसोबासी सबैले लालपुर्जा पाउनुहुन्छ । तपाईँहरू यो कुरामा ढुक्क हुनुहोस् ।

    तपाईँहरूले तारन्तार खबरदारी गर्नुभएको छ, विगतमा पनि गर्दै आउनुभएको छ। यसको लागि म फेरि पनि तपाईँहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । त्यही भएर तपाईँहरू एउटा कुरामा के विश्वस्त हुनुहोस् भने तपाईँहरू भूमिहीन जो सुकुम्बासीहरू हुनुहुन्छ, कसैले उठाउन सक्दैन ।

    तपाईँहरूले बसेको जग्गा कहिलेकाहीँ नकारात्मक सूचीमा परेको हुन सक्छ । त्यसको हकमा पनि कुन कानून ल्याएर, कुन नीति परिवर्तन गरेर सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार काम गरिरहेको छ । अहिले झण्डै झण्डै पाँच महिना भयो यो सरकार गठन भएको । त्यसमा हामी ‘डे वान’ देखि, म मन्त्रीको हैसियतले यो समस्या समाधान गर्नको लागि यहाँ मात्रै होइन देशैभरिको समस्या समाधान गर्नलाई मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै यसमा काम गरिरहेको छु ।

    सँगसँगै सहकारी पीडितका पनि समस्या छन्, त्यसमा पनि हामी काम गरिरहेका छौँ । नेपाल सरकारको प्राथमिकतामा रहेको विषय हो सुकुम्बासीको समस्या । त्यही भएर हामीले यो सरकारको पालामा, ५०० दिनभित्र सुकुम्बासीको समस्या हामीले समाधान गर्नेछौँ देशैभरिको हकमा । त्यसैले हजुरहरू पनि केही नडराउनुस्, नआत्तिनुस् ।

    मैले यहीँ आएर तपाईँहरूलाई किन निवेदन गरेँ भन्दा एउटा त्रासको वातावरण बनेको छ अहिले देशैभरिबाट- ‘ल हामीले बसेको ठाउँबाट हामी वर्षौँदेखि भोगचलन गरिरहेको ठाउँबाट हामीलाई उठाइदिने पो हुन् कि ? हामीलाई निकालिदिने पो हुन् कि ? डोजर लाइदिने पो हुन् कि ?’ भन्ने खालको छ । त्यस्तो होइन। त्यो कुरा म तपाईँहरूलाई आफैँ आएर क्लियर गर्न आएको हो । जसले सुकुम्बासीको हकमा लालपुर्जा पाउनुपर्ने हो, उहाँहरूले लालपुर्जा पाउनुहुन्छ। तपाईँहरू ढुक्क हुनुस् ।

    त्यही भएर अलिकति समय धैर्य धारण गरिदिनुहोला । हामीले यसमा काम गरिरहेका छौँ । छिट्टै हजुरहरू सबैको हातमा लालपुर्जा हुन्छ । अरू पनि केही केही समस्याहरू यसमा छन्, जसमा समिति लगायत मन्त्रालयको ध्यानाकर्षण भएको छ र हामीले यसमा काम गर्नेछौँ ।

    यसलाई चुनावको फण्डा बन्न दिने होइन हामी । म आज मन्त्रीको हैसियतले तपाईँहरूको माझ आएको छु। म तपाईँहरूलाई एउटा त्रासको वातावरणबाट मुक्त गराउन र नआत्तिनुहोस् भन्न आएको हो । काम गर्दै छ सरकारले । अलिकति समय लाग्छ, तर यो समस्या समाधान हुन्छ। तपाईँहरू ढुक्क हुनुस् र अर्को चोटी आउँदा पक्कै पनि अबिर खादा नै लगाउनेछु ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend