काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालिका तथा किशोरीमाथि बढ्दो बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा अनलाइन हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्यालगायत देशका विभिन्न स्थानमा बालिका तथा किशोरीमाथि भइरहेका हिंसाका घटनाप्रति सिजपले चिन्ता व्यक्त गरेको हो।
आइतबार जारी विज्ञप्ति मार्फत सिजपले दिवंगत गरिमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। यस्ता घटना नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५, मुलुकी अपराध संहिता, २०७४ तथा बालअधिकार सम्बन्धी महासन्धिलगायत कानुनी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत रहेको सिजपको भनाइ छ।
सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकालाई हिंसा, शोषण र दुर्व्यवहारबाट संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएकाले घटनाको निष्पक्ष तथा शीघ्र छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सिजपले पीडित तथा उनीहरूका परिवारलाई न्यायसँगै निःशुल्क कानुनी सहायता, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने माग गरेको छ। साथै घर, विद्यालय, सार्वजनिक स्थल तथा अनलाइन क्षेत्रमा बालबालिकाका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।
बालबालिकामाथि हुने हिंसा, बलात्कार, यौन दुर्व्यवहार तथा शोषणका घटनाको प्रभावकारी र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग गठन गर्नुपर्ने मागसमेत सिजपले गरेको छ।
स्थानीय तह तथा विद्यालयमार्फत बालअधिकार, कानुनी साक्षरता र अभिभावक शिक्षालाई प्रभावकारी बनाउनुपर्ने तथा राष्ट्रिय मानव अधिकार आयोगसहित सम्बन्धित निकायले यस्ता घटनाको नियमित र प्रभावकारी अनुगमन गर्नुपर्ने सिजपको भनाइ छ।
सिजपले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको गोपनीयता र बाल मनोविज्ञानप्रति संवेदनशील बन्न आग्रह गरेको छ। घटनासँग सम्बन्धित विभत्स तस्बिर, भिडियो, शवका दृश्य तथा पीडित बालिका वा किशोरीको पहिचान खुल्ने नाम, तस्बिर वा व्यक्तिगत विवरण सार्वजनिक तथा प्रसार नगर्न उसले अनुरोध गरेको छ।
यस्ता सामग्रीको अनियन्त्रित प्रसारले पीडितको गोपनीयता तथा सम्मानको अधिकारमा असर पुर्याउनुका साथै अन्य बालबालिकामा डर, त्रास र मनोसामाजिक असर पर्न सक्ने सिजपले जनाएको छ।
बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सिजपले प्रत्येक बालबालिकाले भय, हिंसा र दुर्व्यवहारमुक्त वातावरणमा सुरक्षित, सम्मानित र मर्यादापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार तथा सबै सरोकारवालाको ध्यानाकर्षण गराएको छ।




.gif)





