काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले यससम्बन्धी जानकारी दिएका हुन्।यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३’ स्वीकृत गरेको थियो। उक्त गठन आदेश बमोजिम गठित समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक काम गर्ने प्रवक्ता अर्यालले बताएका छन्। स्थापना हुने केन्द्रमा एक जना कार्यकारी निर्देशकसहित ३० जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ। उक्त केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई व्यवस्थित गर्ने लक्ष्य राखिएको छ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शासकीय मामिला हेर्ने सहसचिवज्यूको संयोजकत्वमा एउटा ६ सदस्यीय समिति गठन भएको छ,’ प्रवक्ता अर्यालले भने, ‘मुख्यतया यो सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेशले यो समितिको व्यवस्था गरेको हो।’केन्द्रको मूल उद्देश्य सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्नु रहेको उनले स्पष्ट पारे। ‘यस केन्द्रमा एक जना कार्यकारी निर्देशकसहित ३० जना कर्मचारीको व्यवस्था गरिएको छ,’ उनले थपे, ‘यससँगै आवश्यकताअनुसार थप विज्ञ कर्मचारी लिन सक्ने गरी व्यवस्था गरिएको हो।’प्रवक्ता अर्यालका अनुसार प्रधानमन्त्री कार्यालयबाट सबै मन्त्रालयलाई नागरिकले तत्काल अनुभूत गर्ने किसिमका ६५ वटा अवधारणाको मस्यौदा पठाइएको छ। सम्बन्धित मन्त्रालयहरूले उक्त मस्यौदालाई कार्यान्वयनको चरणमा लगिसकेको समेत उनले जानकारी दिएका छन्।




.gif)



