बागलुङ । बागलुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा चिनाउने उद्देश्यले ‘एनआरएनए बागलुङ–ढोरपाटन बुकि अन्तर्राष्ट्रिय साइकलिङ, पर्यटन तथा सांस्कृतिक महोत्सव २०२६’ आयोजना हुने भएको छ।अक्टोबर १ देखि ३ सम्म आयोजना हुने महोत्सवको मूल अवधारणा ‘ढोरपाटनको सिरदेखि कालीगण्डकीको तीरसम्म’ रहेको छ। महोत्सवमा नेपाल तथा विदेशबाट करिब ५०० जना साइकलिस्ट, पर्यटन व्यवसायी, प्रवासी नेपाली, सञ्चारकर्मी तथा पर्यटन क्षेत्रका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
सहभागीले ढोरपाटनबाट बुर्तिबाङ, गल्कोट–हटिया, रामकोट हुँदै बागलुङसम्म साइकल यात्रा गर्नेछन्। यात्राका क्रममा स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य, स्थानीय उत्पादन तथा मौलिक खानाको प्रवर्द्धन गरिने आयोजकले जनाएको छ।गल्कोट–हटियामा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने बागलुङ कालिका भगवती मन्दिर परिसरमा समापन समारोह हुनेछ। महोत्सवमार्फत ढोरपाटन–बुर्तिबाङ–गल्कोट–रामकोट–बागलुङलाई पर्यटन सर्किटका रूपमा विकास गर्दै स्थानीय उत्पादन, रोजगारी र समुदायमा आधारित पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।महोत्सवमा सहभागीका लागि दर्ता निःशुल्क रहने आयोजकले जनाएको छ।




.gif)



