जेनेभा । शक्तिशाली एल निनो मौसमी घटनाका कारण विश्वका केही अति जोखिममा रहेका क्षेत्रमा आगामी वर्षको अन्त्यसम्म थप करिब ४ करोड ९० लाख मानिस चरम खाद्य असुरक्षामा पर्न सक्ने चेतावनी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) दिएको छ ।बुधबार डब्लुएफपीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अत्यन्त शक्तिशाली एल निनो विकसित हुने सम्भावना ८१ प्रतिशत रहेको छ । समुद्रको सतहको तापक्रम कम्तीमा सन् १९८२ यताकै उच्च स्तरमा पुगिरहेको छ र यसकै कारण सन् १९५० यताकै सबैभन्दा शक्तिशाली एल निनो बन्न सक्ने सम्भावना रहेको छ ।
एल निनो प्रशान्त महासागरको सतहको तापक्रम आवधिक रूपमा बढ्ने मौसमी घटना हो । यसले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ । एल निनो प्रायः दक्षिणी अफ्रिकामा खडेरी, एसियाका केही भागमा मनसुन ढिलो हुने तथा अन्य क्षेत्रमा अनियमित वर्षासँग सम्बन्धित हुन्छ ।‘विगतमा यस्ता घटनाले ठूलो स्तरको भोकमरी निम्त्याएका छन्,’ डब्लुएफपीको खाद्य सुरक्षा तथा पोषण विश्लेषण सेवाका निर्देशक जाँ–मार्टिन बाउअरले पत्रकारहरूसँग भनेका छन् ।एल निनोका प्रतिकूल प्रभावप्रति संवेदनशील मानिएका ४५ देशको विश्लेषणका आधारमा डब्लुएफपीले चरम खाद्य असुरक्षामा रहेका मानिसको संख्या करिब ४ करोड ९० लाखले बढेर २७ करोड ४० लाख पुग्न सक्ने अनुमान गरेको छ । यो संकटको स्तरमा वा त्यसभन्दा गम्भीर खाद्य असुरक्षामा पहिले नै रहेका जनसंख्याको तुलनामा २२ प्रतिशत वृद्धि हो ।
मध्य अमेरिका र दक्षिणी अफ्रिका बढी प्रभावित हुने
डब्लुएफपीको प्रतिवेदनअनुसार मध्य अमेरिका र दक्षिणी अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्नेछन् । मध्य अमेरिकामा खाद्य असुरक्षामा रहेका मानिसको संख्या ८३ प्रतिशत र दक्षिणी अफ्रिकामा करिब ७५ प्रतिशत बढ्न सक्ने अनुमान गरिएको छ ।दक्षिणी अफ्रिकाका साथै दक्षिण अमेरिका र क्यारिबियन क्षेत्रमा पनि प्रत्येकमा थप १ करोड २० लाखभन्दा बढी मानिस चरम खाद्य असुरक्षामा पर्न सक्ने अनुमान छ । बाउअरका अनुसार सन् २०२५ मा राम्रो बाली उत्पादन भएकाले विश्व खाद्य बजार तुलनात्मक रूपमा बलियो अवस्थामा एल निनो अवधिमा प्रवेश गरेको छ । तर मध्यपूर्वमा जारी द्वन्द्व र मौसमका कारण बाली उत्पादनमा सम्भावित क्षतिले खाद्य वस्तुको मूल्यमा थप दबाब सिर्जना गर्न सक्ने उनले चेतावनी दिएका छन् ।विगतका एल निनो घटनाले सामान्यतया विश्वव्यापी खाद्य मूल्यमा ठूलो फेरबदल ल्याउने नगरे पनि क्षेत्रीय अभाव र मूल्यवृद्धिले कमजोर परिवारको खाद्य पहुँचलाई थप कठिन बनाउन सक्ने उनको भनाइ छ ।
खाद्य सुरक्षा अनुगमनमा चुनौती
सन् २०२५ मा अमेरिका र युरोपेली दाताहरूले गरेको आर्थिक सहयोग कटौतीले विकसित हुँदै गरेको खाद्य संकटको अनुगमन गर्ने प्रयासलाई पनि प्रभावित गरिरहेको डब्लुएफपीले जनाएको छ । बाउअरले एल निनोको प्रभाव मूल्यांकन गर्न प्रयोग हुने खाद्य सुरक्षा तथ्यांक संकलनमा ‘बढ्दो खडेरी’ देखिएको बताए ।डब्लुएफपीले सन् २०२४ मा करिब ११ लाख घरधुरी सर्वेक्षण गरेको थियो । सन् २०२५ मा यस्तो सर्वेक्षणको संख्या घटेर करिब ८ लाख पुगेको थियो । आर्थिक स्रोतको अभावका कारण यस वर्ष तथ्यांक संकलन अझ घटेको छ ।‘एल निनोजस्तो जोखिम रहेको समयमा उच्च स्तरमा तथ्यांक संकलन गर्नु महत्वपूर्ण हुन्छ,’ बाउअरले भने । अनुगमन घट्दा उदीयमान खाद्य संकटलाई छिटो पहिचान गर्न कठिन हुन सक्ने उनले चेतावनी दिए ।
समयमै कदम चाल्न आग्रह
डब्लुएफपीका अनुसार हालका मौसम पूर्वानुमानले पूर्वी अफ्रिका, साहेल क्षेत्र, मध्य अमेरिका र क्यारिबियनका केही भागमा वर्षाको कमी हुने संकेत गरेका छन् । सोमालिया र आसपासका क्षेत्रमा भने बाढीको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।दक्षिण तथा दक्षिणपूर्वी एसियामा पनि उल्लेखनीय प्रभाव पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । खडेरीको जोखिम, अनियमित मनसुन र स्थानीय बाढीका कारण कृषि उत्पादन प्रभावित हुन सक्ने डब्लुएफपीले जनाएको छ ।
यद्यपि मौसमसम्बन्धी पूर्वानुमान अझै अनिश्चित रहेको र एल निनोको प्रभाव क्षेत्रअनुसार फरक हुन सक्ने डब्लुएफपीले स्पष्ट पारेको छ । तर सरकार तथा मानवीय सहायता उपलब्ध गराउने निकायहरूले सम्भावित संकटका लागि अहिले नै तयारी गर्नुपर्नेमा जोड दिएको छ ।डब्लुएफपीको जलवायु तथा उत्थान सेवाका निर्देशक रिचर्ड चुलार्टनले संस्थाले १८ देशमा पूर्वानुमानमा आधारित अग्रिम सहायता कार्यक्रम विस्तार गरेको बताए । उनका अनुसार यस वर्ष हालसम्म १३ लाखभन्दा बढी मानिसलाई अत्यधिक मौसमी घटनाबाट जोगिन नगद तथा अन्य प्रकारको सहायता उपलब्ध गराइएको छ ।




.gif)





