काठमाडौँ ।आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता उपहार प्रोत्साहन कार्यक्रम’ मा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ।सोमबार मध्याह्नसम्ममा पुरस्कारका लागि योग्य कारोबारको संख्या झन्डै ११ लाख (१० लाख ८२ हजार ६२२) पुगेको छ। यसमा क्युआर (QR) कोडमार्फत भएका भुक्तानीका साथै भौतिक बिल अपलोड गरिएका कारोबारहरू समावेश छन्। साउन १ देखि १५ गतेसम्म क्युआरबाट भएका १० लाख ७४ हजारभन्दा बढी कारोबार योग्य भइसकेका छन् भने उपहार घोषणा हुनुअघिका नगद बिलहरू पनि अपलोड गर्न सकिने भएकाले यो संख्या अझै बढ्ने विभागको अनुमान छ।
यस कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको अवधिमा सहभागी भएकाहरूबाट दैनिक १५ जनालाई १-१ लाख र एक जना भाग्यशाली विजेतालाई १० लाखको बम्पर पुरस्कार प्रदान गर्ने तयारी भइरहेको छ। सुरुमा साउन १६ गते नै पहिलो चरणको नतिजा सार्वजनिक गर्ने तालिका रहे तापनि केही प्राविधिक तयारी पूरा गर्नुपर्ने भएकाले पुरस्कार घोषणामा केही ढिलाइ भएको विभागले जनाएको छ।प्राविधिक प्रक्रिया पूरा हुनासाथ छिट्टै विजेताहरूको नाम सार्वजनिक गरिनेछ।
विभागले पहिलो प्रोत्साहन उपहार घोषणा गर्ने अघिल्लो दिनसम्म नगद कारोबार गरेर बिल लिएका उपभोक्तालाई आफ्नो बिल प्रणालीमा प्रविष्ट गर्न अनुरोध गरेको छ । विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याएको छ। चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन कार्यक्रम घोषणा गरेका थिए ।कार्यक्रमअन्तर्गत एक सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्छन् ।




.gif)





