काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गुठी पीडित किसानका समस्या समाधान गर्न र देशव्यापी रूपमा फैलिएको बाँदर आतङ्क नियन्त्रणका लागि तत्काल प्रभावकारी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले किसानका गम्भीर समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रमुख सचेतक दुलालले ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संरक्षण राज्यको दायित्व भए पनि गुठीका नाममा वर्षौँदेखि जोतभोग गर्दै आएका वास्तविक किसान अन्यायमा परेको बताए ।
सिन्धुपाल्चोकको फटकशिलाको उदाहरण प्रस्तुत गर्दै उनले विक्रम संवत् १८५६ देखि पशुपति महास्नान गुठीका नाममा रहेका झन्डै १२ सय रोपनी जग्गाका कारण किसानहरूले लामो समयदेखि श्रम र जिन्सी करको शोषण खेप्नुपरेको उल्लेख गरे ।सिन्धुपाल्चोकमा मात्रै २२ हजार घरधुरी गुठी जग्गाबाट प्रत्यक्ष प्रभावित रहेको जानकारी दिँदै उनले सर्वदलीय र सर्वपक्षीय परामर्शका आधारमा अविलम्ब ‘गुठी विधेयक’ संसदमा ल्याउन सरकारसँग माग गरे ।उनले भने, ‘विगतमा किसानहरूले ३५ किलोमिटर भारी बोकेर पशुपतिसम्म जिन्सी बुझाउनुपर्ने बाध्यता थियो । हाल सो गुठी सञ्चालनमा नभए पनि किसानले जग्गाको स्वामित्व पाएका छैनन्, जसका कारण उनीहरूले न बैंकबाट कर्जा लिन सक्छन्, न त हक हस्तान्तरण नै गर्न सक्छन् । किसानहरू बिहानदेखि बेलुकासम्म गुलेली बोकेर बाँदर धपाउनै व्यस्त हुनुपर्ने अवस्था छ । यो देशलाई कृषिप्रधान बनाउने हो भने बाँदर नियन्त्रण अपरिहार्य आवश्यकता भइसकेको छ ।’देशभरका किसान बाँदर आतंकबाट आक्रान्त भएको भन्दै प्रमुख सचेतक दुलालले बाँदरले अन्नबाली सखाप पारेका कारण किसानले सास्ती भोगिरहेको बताए ।




.gif)



