images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • एमबिएस प्रश्नपत्र आउट प्रकरणमा दुई पक्राउ,...

एमबिएस प्रश्नपत्र आउट प्रकरणमा दुई पक्राउ, ‘सुलभ सर’सहितका आरोपितमाथि साइबर ब्युरोको अनुसन्धान तीव्र

एमबिएस प्रश्नपत्र आउट प्रकरणमा दुई पक्राउ, ‘सुलभ सर’सहितका आरोपितमाथि साइबर ब्युरोको अनुसन्धान तीव्र

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह (एमबिएस) प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनामा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार प्रश्नपत्र सार्वजनिक गरेको आरोप लागेका ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि प्रश्नपत्र कसरी बाहिरियो, त्यसमा अन्य कसको संलग्नता छ र संगठित रूपमा परीक्षा प्रणालीमा हस्तक्षेप भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

    images
    images

    यस घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरेका छन्। प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानबारे औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी भइरहेको छ।नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले साइबर ब्युरोले घटनाको विस्तृत विवरण केहीबेरमै सार्वजनिक गर्ने जानकारी दिएका छन्।

     परीक्षा सुरु भएको पाँच मिनेटमै बाहिरियो प्रश्नपत्र

    images
    images

    साउन ८ गते सञ्चालन भएको एमबिएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र ‘एमबिएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप समूहमा पठाइएको दाबी गरिएको छ।यस घटनापछि ‘टियु स्टुडेन्ट्स’ नामक फेसबुक पेजले प्रश्नपत्र सार्वजनिक भएको भन्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले ह्वाट्सएप समूहका स्क्रिनसटसमेत सार्वजनिक गरेको थियो, जसमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ।स्क्रिनसटअनुसार प्रश्नपत्र पठाइएपछि ‘केशव भट्ट’ नाम गरेका सदस्यले ‘सर, सोलुसन पनि पठाइदिनु न’ भन्ने सन्देश लेखेका छन्। त्यसको केही मिनेटपछि ‘सुलभ’ नामको खाताबाट अर्को पीडीएफ फाइल पनि पठाइएको देखिएको छ। उक्त फाइलमा के सामग्री थियो भन्ने विषयमा भने आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।त्यस्तै, समूहका अर्का सदस्य ‘सुजन पौडेल’ले आगामी ‘इकोनोमिक्स’ विषयको परीक्षामा पनि यस्तै ढंगले प्रश्नपत्र उपलब्ध गराइदिन अनुरोध गरेको देखिएको छ। सम्बन्धित ह्वाट्सएप समूहमा एक हजार २३ जना सदस्य रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

     त्रिविले माग्यो कानुनी कारबाही

    प्रश्नपत्र बाहिरिएको विषय सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डीन कार्यालयले तत्काल साइबर ब्युरोलाई पत्राचार गर्दै घटनाको अनुसन्धान गरी दोषी पहिचान गर्न आग्रह गरेको थियो।सहायक डीन डा. भरत राईद्वारा पठाइएको पत्रमा प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको विषयले विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संलग्न व्यक्ति, संस्था वा परीक्षा केन्द्रको पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न अनुरोध गरिएको छ।

     छानबिन समिति गठन

    घटनाको सत्यतथ्य पत्ता लगाउन त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला तथा केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

    परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न

    परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीको गोपनीयता, विश्वसनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ। विद्यार्थी, अभिभावक तथा शैक्षिक क्षेत्रका सरोकारवालाले दोषीमाथि कडा कारबाही गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा प्रणाली लागू गर्न माग गरेका छन्।साइबर ब्युरोको अनुसन्धान जारी रहेकाले घटनामा थप व्यक्ति वा संस्थाको संलग्नता रहेको भए त्यसबारे आगामी अनुसन्धानबाट थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend