काठमाडौं । नेपालका निर्यातमुखी उद्योगी–व्यवसायीहरूले स्वदेशी कच्चा पदार्थ भारत निकासी हुँदा नेपाली उद्योगहरू भविष्यमा संकटमा पर्न सक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होमप्रसाद घिमिरे नेतृत्वको टोलीले सो ध्यानाकर्षण गराएको हो ।अध्यक्ष घिमिरेले प्रधानमन्त्रीसँग समग्र निर्यात क्षेत्रको अवस्था र विशेषगरी प्लाइउड तथा कार्पेट उद्योगका समस्याबारे गम्भीर छलफल भएको जानकारी दिए । भेटमा प्लाइउड संघका संस्थापक अध्यक्ष देवानन्दलगायत नेपाल गलैँचा उत्पादक संघ र पश्मिना उत्पादक संघका गरी ५ जना प्रतिनिधिहरू सहभागी थिए ।
छलफलका क्रममा अध्यक्ष घिमिरेले नेपालका स्थानीय कच्चा पदार्थ भारी मात्रामा भारततर्फ निकासी भइरहेको तथ्यांक प्रधानमन्त्रीसमक्ष पेस गरेका थिए ।‘भारतीय प्लाइउड उद्योगका प्रतिनिधिहरूले नेपालमै आएर साना उद्योग लगाउने र यहाँको कच्चा पदार्थ भारत लैजाने क्रम बढेको छ,’ घिमिरेले भने, ‘यसले गर्दा भविष्यमा नेपालकै तयारी वस्तु (फिनिस्ड गुड्स) उत्पादन गर्ने प्लाइउड उद्योगहरूले कच्चा पदार्थको चरम अभाव झेल्नुपर्ने अवस्था आउँदैछ ।’उनले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने र नेपालमै ठुला प्लाइउड उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए ।व्यवसायीका गुनासा सुनिसकेपछि प्रधानमन्त्रीले तत्काल समाधान गर्न सकिने विषयमा त्यहीँ उपस्थित सचिवलाई निर्देशन दिएको बताएका छन् । त्यस्तै, ऐन तथा कानुन नै संशोधन गर्नुपर्ने दीर्घकालीन प्रकृतिका समस्याहरूलाई पनि क्रमशः हल गर्दै जाने आश्वासन प्रधानमन्त्रीबाट आएको उनको भनाइ छ ।
अहिले बजेट आइसकेको अवस्थामा नीतिगत रूपमा तत्कालै धेरै कुरा गर्न नसकिए पनि, कच्चा पदार्थ बाहिरिने समस्यालाई कसरी रोक्न सकिन्छ र समग्र निर्यात कसरी बढाउन सकिन्छ भन्ने विषयमा निकास खोज्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन् । उक्त भेटमा कार्पेट (गलैँचा) उत्पादकहरूले पनि आफ्ना समस्याहरू राखेका थिए ।३० देखि ४५ मिनेटको लागि तय भएको भेटघाट कार्यक्रम करिब डेढ घण्टासम्म लम्बिएको थियो । प्रधानमन्त्रीको सकारात्मक शैली र समस्या समाधानप्रतिको तत्परताबाट उद्योगीहरू उत्साही भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।




.gif)





