राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको मालुढङ्गा देखि पाल्पाको पिपलडाँडा खण्ड सम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
करिडोर अन्तर्गत बागलुङको मालढुङ्गा देखि गैँडाकोट सम्मको सडक खण्ड मध्ये पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका अन्तर्गत यम्घाको मन्द्रानमा ५०० मिटर सडकको ट्र्याक खुल्ने बाहेक सबै काम अन्तिम चरणमा पुगेको हो । यस खण्डमा कडा चट्टाने पहाड भएकाले सामान्य मेसिन र प्रविधिले चट्टान फुटाउन नसक्दा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले त्यसको आवश्यक प्रक्रिया अगाडि बढेको कार्यालयले जनाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत पाल्पामा ३० किलोमिटर सडक पर्दछ ।
राम्दी देखि मालढुङ्गा सम्मको ५०० किलोमिटर सडकको ट्र्याक खोल्ने काम अन्तर्गत पाल्पाको रानीमहल रिडी, दैलातुङ रानीमहल, राम्दी दैलातुङ सडक खण्डमा ठेक्का सम्झौता भए पनि चट्टाने पहाड भएकाले काम गर्न समस्या परेको हो । ट्र्याक खोल्न बाँकी रहेको ५०० मिटर क्षेत्रमा कडा खालको चट्टाने भाग रहेको क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी फुटाउनु पर्ने भएकाले जिल्ला प्रशासन कार्यालय पाल्पा सँग समन्वय गरेर काम गर्न कार्यालयलाई पत्राचार गरिएको आयोजनाका प्रमुख सुवोध कुमार देवकोटाले बताए ।
भारतीय कम्पनीको जिम्मेवारीमा रहेको पाल्पा जिल्लाको राम्दी, गैँडाकोट खण्ड १३१ किलोमिटर मध्ये १२ किलोमिटरमा कालोपत्र भइसकेको छ । हाल सम्म यस सडक खण्डमा रु आठ अर्ब ४५ करोड मध्ये नेपाल सरकारबाट रु दुई अर्ब ९३ करोडको ठेक्का सम्झौता भएको र रु दुई अर्ब ५२ करोड रकम खर्च भइसकेको आयोजनाले जनाएको छ । यस सडक खण्डमा गत कात्तिक मसान्त सम्ममा नेपाल भारत सरकारको गरी रु चार अर्ब ३१ करोड खर्च भइसकेको करिडोर कार्यालयका प्रमुख देवकोटाले बताए ।
नेपाल सरकार सँगको सम्झौता अनुरुप भारतको एक्जीम बैंक ऋण सहयोगमा भारतीय निर्माण कम्पनीले रु साढे पाँच अर्बको लागतमा पाल्पाको राम्दी देखि गैँडाकोट सम्मको १३० किलोमिटर सडकको ट्र्याक खोल्ने, ग्राभेल गर्ने, कालोपत्र गर्ने कार्य तीव्रगतिमा अगाडि बढेको छ । यसैगरी नेपाली सेनाले निर्माणको जिम्मा पाएको रिडीदेखि बागलुङ खण्डमा कालोपत्र गर्ने कार्य बाँकी रहेको छ । बागलुङको मालढुङ्गा सम्म २४५ किलोमिटर र स्याङ्जाको मिर्मी, पर्वतको अमर्दी सम्म ट्र्याक खुलिसकेको छ ।
मिर्मी रानीपानी खण्डमा कालोपत्रको कार्य बाँकी छ । राम्दी देखि गैँडाकोट खण्ड भारतीय कम्पनीको जिम्मेवारीमा रहेको छ । यस अन्र्तगत १३१ किलोमिटर सडक मध्ये १२ किलोमिटरमा मात्र कालोपत्र भएको छ । यस आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि भारत र चीन सँग जोड्ने छोटो मार्गका रुपमा भएकाले राज्यले ठूलो धन राशि खर्चिएर राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको हो । कालीगण्डकी करिडोर सडक मार्गको काम धमाधम हुन थालेपछि गाउँमा विकासको लहर छाउन थालेको छ ।
उत्तर दक्षिण जोड्ने लोकमार्गका रुपमा लिइएको यस आयोजनासँग जोडिएका स्थानीयवासी धमाधम काम अगाडि बढेपछि गाउँमै बसेर विभिन्न पेशा व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको छ भने स्थानीय नागरिक हर्षित भएका छन् ।
सो सडक खण्डको कार्य सम्पन्न भई यातायातका साधन सुचारु भएपछि विकासमा ठूलो परिवर्तन आउने रम्भा गाउँपालिका–१ हुङ्गीका स्थानीयवासी जगन्नाथ भण्डारीले बताए । “करिडोर निर्माण कार्य शुरु हुनुभन्दा अगाडि विकासका दृष्टिकोणले पछाडी परेको यस क्षेत्रका स्थानीयवासी बसाइँसराइको क्रम बढेको थियो, करिडोर निर्माणको कार्य अगाडि बढेपछि अन्यत्र घर बनाउने तयारीमा थिए, अहिले करिडोरको काम दु्रतगतिमा अगाडि बढेको देखेपछि गाउँमै नयाँ घर बनाएर यहीँ बस्ने योजना बनाए, करिडोरको काम सकिएपछि गाउँ नै शहर बन्नेछ” उनले भने ।
यतिखेर कालीगण्डकी करिडोर सँग जोडिएका गाउँ बस्तीमा ठूला ठूला कृषिफार्म, पशुफार्म शुरु गर्न थालिएको छ । स्थानीय उत्पादनलाई बजारीकरणको लागि यातायात सहज हुने भएकाले कालीगण्डकी करिडोरलाई लक्षित गरी व्यावसायिक कृषिमा जोड दिन थालेको स्थानीयवासी रामचन्द्र ढकालले बताए । “सडकमार्ग निर्माणको काम अगाडि बढेपछि यस क्षेत्रलाई जिल्लाकै गोलभेँडा जोनको रुपमा विकास गर्न टनेलभित्र गोलभेँडा खेती शुरु गरिएको छ, प्रारम्भिक चरणमा चार टनेलमा शुरु गरियो भने सडकमार्ग सम्पन्न भएपछि ठूलो सङ्ख्यामा टनेल बनाउने योजना छ” ।




.gif)





