नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी गौतम अडानीको अडानी समूहले नयाँ हवाई सेवा सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको समाचार सार्वजनिक भएको छ । यदि यो योजना कार्यान्वयनमा आयो भने भारतको हवाई यातायात बजारमा ठुलो परिवर्तन आउन सक्ने र हाल बजारमा अग्रणी रहेका इन्डिगो तथा एयर इन्डियासँग नयाँ प्रतिस्पर्धा सुरु हुन सक्ने अनुमान गरिएको छ ।यस विषयमा प्रत्यक्ष जानकारी भएका दुई स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अडानी समूहले विभिन्न विकल्पहरूको मूल्याङ्कन गरिरहेको छ । तर, हालसम्म कुनै अन्तिम निर्णय भने भइसकेको छैन । सार्वजनिक रूपमा बोल्ने अधिकार नभएकाले ती स्रोतहरूले आफ्नो नाम खुलाउन अस्वीकार गरेका छन् ।
समाचारअनुसार भारत सरकारले पनि अडानी समूहसहित केही ठुला व्यावसायिक समूहहरूलाई नयाँ एयरलाइन्स सञ्चालन गर्ने सम्भावनाबारे विचार गर्न प्रोत्साहित गरिरहेको छ । यसको एउटा कारण गत वर्ष भएको एयर इन्डियाको विमान दुर्घटनापछि कम्पनीमाथि बढेको निगरानी तथा समीक्षा हो ।यसैगरी, बजारमा सबैभन्दा ठुलो हिस्सा ओगटेको इन्डिगोले गत डिसेम्बरमा सञ्चालनसम्बन्धी समस्याहरू सामना गर्दा देशभर हवाई उडान प्रभावित भएका थिए । त्यसपछि सरकारले हवाई सेवामा प्रतिस्पर्धा बढाउन नयाँ कम्पनीहरू प्रवेश गर्नुपर्ने आवश्यकता महसुस गरेको बताइएको छ । अडानी समूहले नयाँ एयरलाइन्स सञ्चालन गर्ने निर्णय गर्यो भने भारतको तीव्र रूपमा विस्तार भइरहेको उड्डयन क्षेत्रमा अर्को ठुलो खेलाडीको प्रवेश हुनेछ ।अडानी समूहले यसअघि विमानस्थल व्यवस्थापनलगायत पूर्वाधार क्षेत्रमा ठुलो लगानी गरिसकेको छ । त्यसैले एयरलाइन्स सञ्चालनमा प्रवेश गरे समूहले आफ्नो विद्यमान पूर्वाधार व्यवसायसँग पनि समन्वय गर्न सक्ने विश्लेषण गरिएको छ । यस विषयमा प्रतिक्रिया मागे पनि अडानी समूहले समाचार सार्वजनिक हुँदासम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएको रोयटर्सले बताएको छ ।




.gif)



