काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनको अनुमति पर्खिरहेको जस्मिन पेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामै ८७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले गत आर्थिक वर्ष (सन् २०२५) मा ८३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । यससँगै कम्पनीले ९ महिनामै गत वर्षको वार्षिक आम्दानीलाई उछिनेको छ ।कम्पनीको आम्दानी पछिल्ला वर्षहरुमा निरन्तर बढ्दो क्रममा देखिएको छ । सन् २०२४ मा ६७ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ६२ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ७४ करोड ६० लाख रुपैयाँ तथा सन् २०२१ मा ६५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।
वित्तीय प्रदर्शनमा सुधारसँगै इक्रा नेपालले कम्पनीको इस्युअर रेटिङलाई स्तरोन्नति गर्दै 'इक्राएनपी आइआर बीबीबी माइनसबाट 'इक्राएनपी आइआर बीबीबी' कायम गरेको छ । इक्राका अनुसार यो रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने मध्यम स्तरको सुरक्षा रहेको तथा कर्जा जोखिम मध्यम रहेको संकेत गर्छ ।इक्रा नेपालले निर्माण क्षेत्र सुस्त रहँदा पनि कम्पनीले डिलर सञ्जाल विस्तार, ब्रान्डको बढ्दो उपस्थिति र मूल्य समायोजनका कारण उल्लेखनीय आम्दानी वृद्धि हासिल गरेको जनाएको छ । आर्थिक वर्ष २०२५ मा कम्पनीको आम्दानी करिब २३ प्रतिशतले बढेको थियो भने चालु आर्थिक वर्षको नौ महिनामा वार्षिक आधारमा करिब ४० प्रतिशत वृद्धि देखिएको छ।
कम्पनीको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा करिब २१ प्रतिशत रहेको थियो भने चालु वर्षको ९ महिनामा १७ प्रतिशत कायम रहेको छ । यस अवधिमा कम्पनीले ऋणको भार पनि उल्लेखनीय रूपमा घटाएको छ । चैत मसान्तसम्म कम्पनीको गियरिङ अनुपात ०.२ गुणा तथा कुल बाह्य दायित्व र नेटवर्थ अनुपात ०.७ गुणामा सीमित रहेको छ।घट्दो ब्याजदर र न्यून ऋण परिचालनका कारण कम्पनीको ऋण भुक्तानी क्षमता पनि सुधारिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा यो अनुपात ७.६ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष ५.१ गुणा थियो ।कम्पनीले १० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने योजना बनाएको छ । प्रस्तावित आइपीओबाट प्राप्त रकमले कम्पनीको पुँजी संरचना थप बलियो बनाउने अपेक्षा गरिएको छ।
यद्यपि, इक्राले वर्किङ क्यापिटल व्यवस्थापनलाई कम्पनीको प्रमुख चुनौतीका रुपमा औंल्याएको छ । बजारबाट उठ्नुपर्ने रकम र उच्च मौज्दातका कारण वर्किङ क्यापिटल सघनता करिब ४१ प्रतिशत रहेको छ । कुल उठ्न बाँकी रकममध्ये करिब ५० प्रतिशत १२० दिनभन्दा पुरानो रहेको प्रतिवेदनमा उल्लेख छ ।सन् १९९४ मा स्थापना भएको जस्मिन पेन्ट्स २०२४ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । चितवनको भरतपुरस्थित उत्पादन प्लान्टको वार्षिक उत्पादन क्षमता १८ हजार ३४१ मेट्रिक टन रहेको छ । कम्पनीले भित्री तथा बाहिरी भित्ताका रङ, मेटल तथा काठका रङ र वाटरप्रुफिङ उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ। हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ ।यस कम्पनीमा अर्याल परिवारको मुख्य लगानी रहेको छ, जस अन्तर्गत अध्यक्ष संगीता अर्यालको करिब ९ प्रतिशत, मधुसूदन अर्यालको ३४ प्रतिशत, लक्ष्मणप्रसाद अर्यालको २५ प्रतिशत, अनुराधा शर्मा अर्यालको १५ प्रतिशत र सौगात अर्यालको १३ प्रतिशत शेयर स्वामित्व रहेको छ । ३२ वर्ष लामो व्यावसायिक इतिहास बोकेको यस कम्पनीको व्यवस्थापनमा प्रवर्द्धकहरू आफैँ प्रत्यक्ष रूपमा संलग्न छन् ।




.gif)





