images

२०८३ आश्विन २९ गते

images
images
images

सार्वजनिक जग्गा संरक्षणमा सक्रिय पोखरा महानगर

सार्वजनिक जग्गा संरक्षणमा सक्रिय पोखरा महानगर

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • गण्डकी, ३० असार । पोखरा महानगरपालिकाले सोमबार पोखरा सभागृहमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा पोखरा बसपार्क, फिर्के खोलालगायत क्षेत्रका सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त बनाउन महानगरले खेलेको भूमिकाले चर्चा पायो । प्रश्नकर्ताले महानगरसँग सम्बन्धित कतिपय विषयमा गुनासा राखे पनि सार्वजनिक जग्गा संरक्षणमा महानगरको नेतृत्वले लिएको पहलकदमीको भने प्रशंसा गरे । 

    images
    images

    महानगरपालिकाले हालैमात्र पोखरा बसपार्क, अमरसिँहचोक र फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराएको थियो । सबैको सहयोग र समर्थनमा महानगरले अतिक्रमित संरचना डोजर लगाएर हटाएको थियो । 

    कार्यक्रममा पोखराका अन्य क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाबारे उठेका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख धनराज आचार्यले किन्तु परन्तु भनेर सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछाडि नहट्ने बताए ।  

    images
    images

    “केही समय भित्रै महानगरले पोखरामा रहेको सार्वजनिक जग्गाको लगत विवरण सार्वजनिक गर्छ, वनक्षेत्रसमेत गरी झण्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको प्रारम्भिक अनुमान छ”, उनले भने, “सार्वजनिक जग्गा यकीन गर्दा यदि कसैले जग्गा अतिक्रमण गरेको पाइएमा जग्गा खाली गर्न सूचित गर्छौं, सम्बन्धितले खाली नगरेमा प्रक्रियाअनुसार महानगर आफैँले अतिक्रमण हटाउँछ, यसमा कुनै सम्झौता हुँदैन ।” कुनैबेला पाटन र चौरका नामले चिनिने पोखरामा अहिले खुला ठाउँ देख्न पनि मुस्किल हुन थालिसकेको उनको भनाइ थियो । 

    प्रमुख आचार्यले महानगरका ३३ वटै वडामा खेलमैदान र उद्यान निर्माणको योजना अगाडि सारिएको सुनाए । उनले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका १६० वटा संरचना हटाइसकिएको र अझै केही संरचना हट्न बाँकी रहेको बताए । 

    अँधेरी कुनादेखि गाईघाटसम्मको आठ किलोमिटरमा समेटिएको फिर्के खोलाको किनारमा  पैदलमार्ग र साइकलमार्गसहितको आकर्षक करिडोर बनाउने महानगरको योजना छ । प्रमुख आचार्यले पोखरा बसपार्कमा बसोबास गर्दै आएका सुकुमवासीको उचित व्यवस्थापनपछि बसपार्क निर्माणको काम सुरु हुने जानकारी दिए । 

    कार्यक्रमका सहभागीहरुले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गाकै बसपार्क बनाउनुपर्ने सुझाव दिएका थिए । प्रमुख आचार्यले बसपार्क क्षेत्रमा कतिपयको व्यक्तिगत जग्गा भएकाले तिनलाई मुआब्जा दिएर अन्यत्र व्यवस्थापन गर्न सकिएमा सबै क्षेत्रमा बसपार्क बन्ने बताए ।

    “व्यक्तिको लालपुर्जा भएको जग्गालाई मुआब्जा दिन नसकिने अवस्थामा अहिले रहेकै ठाउँमा व्यवस्थापन गर्नुपर्छ”, उनले भने, “बसपार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ, अतिक्रमित जग्गा सबै खाली गरेर बसपार्क बनाउँछौँ ।” 

    पोखरा–१ स्थित टुँडीखेलको जग्गा पनि यकीन गर्ने काम छिट्टै सुरु गरिने उनले बताए । सडक, राजकुलो, चौरलगायत जुनसुकै सार्वजनिक जग्गा अतिक्रमण गर्नु कानुनविपरीत हुने उनको भनाइ छ । यदि कसैले त्यस्तो जग्गामा मिचेर निजी संरचना, व्यवसाय सञ्चालन गरेको भए पनि आफैँ जग्गा खाली गर्न प्रमुख आचार्यले आग्रह गरे । 

    प्रश्नकर्ताले महानगरको सेवा प्रवाह, विकास निर्माणका गतिविधि आदिका विषयमा प्रश्न उठाएका थिए । भूपेन्द्र गिरीले राम्रो काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्नुपर्ने बताए। उनले सार्वजनिक ठाउँमा उद्यान निर्माण गर्न महानगरलाई सुझाव दिए । 

    स्थानीवासीले भरत चालिसेले फिर्के खोलाको मापदण्ड कायम हुनुपर्ने बताए । उनले पोखरामा रहेका राजकुलो र नहरको जग्गा पनि अतिक्रमणमा परेको भन्दै तिनको संरक्षण गर्न माग गरे । अर्का सहभागी प्रभात कँडेलले सार्वजनिक जग्गा मिचेर रिसोर्ट बनाउनेलाई महानगरले बेवास्था गरेको उल्लेख गर्दै कानुन सबैका लागि समान रुपमा लागू हुनुपर्ने बताए। 

    पोखरा–१ का चन्द्रबहादुर गुरुङले १८७ रोपनी जग्गामै पोखरा बसपार्क बन्नुपर्ने धारणा राखे । यस्तै, अशोक राईले सुकुमवासीको उचित व्यवस्थापन गरेर मात्र बसपार्कको निर्माणका प्रक्रिया सुरु गर्नुपर्ने बताए। 

    कार्यक्रममा प्रविण सुवेदी, किशोर भण्डारीलगायत सहभागीहरुले महानगरको कार्यसम्पादन, सेवा प्रवाह आदिका विषयमा प्रश्न रोखका थिए । प्रमुख आचार्यसहित जवाफदेहीका तर्फबाट सहभागीका प्रश्न र गुनासा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend