काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले १५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ (छ)’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले सोमबार (असार २९) खुला बजार कारोबारअन्तर्गत उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि बजारबाट अतिरिक्त रकम व्यवस्थापन गर्न एकवर्षे अवधिको ऋणपत्र जारी गर्न लागिएको हो।
यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू ले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल (अक्सन) प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।
राष्ट्र बैंकले ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने जनाएको छ। सहभागी बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको ब्याजदरका आधारमा अन्तिम दर तय गरिने व्यवस्था गरिएको छ।
जारी गरिने ऋणपत्रको अवधि एक वर्ष रहनेछ। यसको साँवा २०८४ असार २९ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक (छ–छ महिनामा) रूपमा भुक्तानी हुनेछ।
राष्ट्र बैंकले न्यूनतम ५ करोड रुपैयाँ बराबर आवेदन दिन सकिने व्यवस्था गरेको छ। त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान गरिएको १५ अर्ब रुपैयाँसम्म बोलपत्र पेश गर्न सकिनेछ।
नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नियमित रूपमा निक्षेप सङ्कलन, रिपो तथा ऋणपत्रजस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। कर्जा विस्तार अपेक्षाअनुसार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा ठूलो परिमाणमा निष्क्रिय रकम थुप्रिएको अवस्थामा केन्द्रीय बैंकले खुला बजार कारोबारमार्फत बजारबाट अतिरिक्त रकम तान्ने नीति अवलम्बन गरिरहेको छ।




.gif)





