काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस–२०२६ को अवसरमा बैंकले कार्यक्रम सार्वजनिक गर्दै देशभरका नवप्रवर्तनशील सोच भएका व्यक्ति तथा उद्यमीहरूबाट इन्क्युबेसन कार्यक्रमका लागि आवेदन आह्वान गरेको हो।
काठमाडौंको कमलादीस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै उद्यमशीलता प्रवर्द्धन र व्यवसाय विस्तारका लागि बैंकले नयाँ पहल थालेको जानकारी दिए। उनका अनुसार नवप्रवर्तनकारी सोच भएका युवालाई सफल उद्यमी बनाउन तथा सञ्चालनमा रहेका लघु, साना र मझौला व्यवसायलाई दिगो, प्रतिस्पर्धी र व्यवस्थित बनाउन आवश्यक ज्ञान, सीप तथा परामर्श उपलब्ध गराउने उद्देश्यले ‘उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
रेग्मीले एमएसएमई क्षेत्रमा देखिएका साझा चुनौती समाधान गर्न विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत व्यावहारिक तालिम, व्यवसायिक मार्गदर्शन र समस्या समाधानका उपाय उपलब्ध गराइने बताए। कार्यक्रमले उद्यमीहरूलाई आवश्यक व्यवसायिक सञ्जाल विस्तार गर्न र संस्थागत विकासमा समेत सहयोग पुग्ने उनको भनाइ छ।
बैंकका अनुसार ‘उद्यमशाला’ कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण ‘इन्क्युबेसन’ कार्यक्रम नयाँ व्यवसाय सुरु गर्न इच्छुक तथा नवप्रवर्तनकारी सोच भएका युवालाई लक्षित हुनेछ। यसअन्तर्गत सहभागीलाई क्षमता विकास, व्यवसाय योजना निर्माण, मार्गनिर्देशन तथा व्यवसायिक नेटवर्क विस्तारमा सहयोग गरिनेछ।
त्यसैगरी दोस्रो चरण ‘एक्सीलेरेसन’ कार्यक्रम सञ्चालनमा रहेका तर व्यवसाय विस्तार, आधुनिकीकरण तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा चुनौती भोगिरहेका उद्यमीका लागि हुनेछ। यसअन्तर्गत आधुनिक प्रविधिको प्रयोग, बजारीकरण, वित्तीय पहुँच विस्तार तथा सम्बन्धित सरकारी र निजी निकायसँग समन्वयमा सहजीकरण गरिने बैंकले जनाएको छ।
कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर प्रणाली, कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय योजना तथा बैंक तथा वित्तीय संस्थासँगको सहकार्यबारे व्यावहारिक ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको छ। बैंकले यस कार्यक्रमलाई नेपालमा उद्यमशीलता विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने पहलका रूपमा लिएको जनाएको छ।
उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंकले हाल देशका ७७ वटै जिल्लामा ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको बैंकले जानकारी दिएको छ।
बैंकले ‘बैंक अफ द इयर’, ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, ‘बेस्ट बैंक ईएसजी नेपाल’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको जनाएको छ।




.gif)





