काठमाडौं, ११ असार । २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव–२०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको “दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम” काठमाडौंमा सम्पन्न भएको छ। “दही–चिउरा खाऔँ, धान दिवस मनाऔँस स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढाऔँ” भन्ने नारासहित आयोजित कार्यक्रममा कृषि, दुग्ध तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली मौलिक खाद्य संस्कृति, कृषि उत्पादन र दुग्धजन्य पदार्थको उपभोग विस्तारबारे चर्चा गरिएको थियो। कार्यक्रमको उद्घाटन दही–चिउरा सेवन गराएर गरिएको थियो।
प्रमुख अतिथि श्रेष्ठले स्वदेशी उत्पादनको प्रयोगले किसान र उद्योगीलाई प्रत्यक्ष लाभ पुग्ने तथा विदेशी मुद्रा बाहिरिनबाट रोक्न सहयोग गर्ने बताएका छन्। उहाँले होटल व्यवसायमा समेत नेपाली परिकार र दुग्धजन्य उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै विदेशी पाहुनालाई मोहीसहितका स्थानीय परिकार उपलब्ध गराउने अभ्यास बढाउन आग्रह गरेका छन्।
कार्यक्रममा सहभागी वक्ताहरूले कृषि र दुग्ध क्षेत्रको अन्तरसम्बन्ध, राष्ट्रिय अर्थतन्त्रमा किसान तथा दुग्ध व्यवसायीको योगदान, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रले भोगिरहेका उत्पादन, बजारीकरण र भुक्तानी व्यवस्थापनका चुनौतीबारे धारणा राखेका थिए। उनीहरूले उपभोग वृद्धि र बजार विस्तारका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधि शंकर अधिकारीले यस्ता कार्यक्रमले स्थानीय खाद्य संस्कृतिको संरक्षण, दही–चिउराको प्रवर्द्धन तथा दुग्धजन्य पदार्थको माग बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बतारेका छन्। नेपाल कृषि महासंघका अध्यक्ष शिवसुन्दर श्रेष्ठले डेरी एसोसिएसनले सञ्चालन गरेको मोही प्रवर्द्धन अभियान सफल भएको उल्लेख गर्दै अन्य दुग्धजन्य उत्पादनको बजार विस्तारमा पनि यस्ता अभियान आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा दुग्ध क्षेत्रको वर्तमान अवस्था, अवसर र चुनौतीबारे प्रेस विज्ञप्ति जारी गर्नुका साथै उपस्थित अतिथिहरूलाई दूध तथा दुग्धजन्य पदार्थ र हाईलाइफ चिउरा समावेश गरिएको मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको समापनमा उपस्थित सबैलाई दही–चिउरा सेवन गराएर नेपाली खाद्य संस्कृतिको महत्व उजागर गरिएको थियो।
आयोजकले जलवायुमैत्री कृषि प्रविधि, धान उत्पादनमा आत्मनिर्भरता तथा स्वदेशी उत्पादनको प्रयोगमार्फत किसान र उद्योगीको मनोबल बढाउने उद्देश्यसहित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।




.gif)





