गोरखा । उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी (बीओपी) को संयुक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ ।चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बिओपीका सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयवासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रको अवलोकन हो ।
प्रहरी निरीक्षक आकाश सूचीकारको नेतृत्वमा सामागाउँ प्रहरी चौकीका प्रहरी, वडा सदस्य पासाङ लामा, साम्दो, सामागाउँ र स्याला गाउँका स्थानीयवासीको टोलीले त्यक्षेत्रको अनुगमन गरेको सशस्त्र प्रहरी गोरखा गुल्मका प्रमुख डिएसपी ढलप्रसाद काफ्लेले जानकारी दिए ।उक्त टोलीले समयसमयमा त्यस क्षेत्रको निरीक्षण गरी शान्ति सुरक्षालगायत विषयमा जानकारी हासिल गर्दै आएको छ । साम्दोस्थित बिओपीले ग्याला नाका, रुइला नाका र लाजुन नाका क्षेत्रमा सुरक्षा गर्दै आएको छ । छेक्या र बाजु क्षेत्रमा लामो समयदेखि बिओपी स्थापना गर्ने भनिए पनि हालसम्म स्थापना हुन सकेको छैन ।




.gif)



