images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • अवैध वन्यजन्तु व्यापार नियन्त्रणमा प्रहरी, वैज्ञानिक...
अर्थसमाचार संवाददाता

अवैध वन्यजन्तु व्यापार नियन्त्रणमा प्रहरी, वैज्ञानिक संस्था र समुदायको सहकार्य अपरिहार्य

अवैध वन्यजन्तु व्यापार नियन्त्रणमा प्रहरी, वैज्ञानिक संस्था र समुदायको सहकार्य अपरिहार्य

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं । वन्यजन्तुको अवैध व्यापार, चोरी–सिकारी नियन्त्रण तथा वातावरण संरक्षणमा प्रहरी, वैज्ञानिक संस्था र स्थानीय समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। “वन्यजन्तुको अवैध व्यापार/चोरी सिकारी नियन्त्रण र वातावरण संरक्षणमा प्रहरी र समुदायको भूमिका” विषयक कार्यक्रममा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका १५० जना प्रहरी कर्मचारी सहभागी भएका थिए।

    images
    images

    नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालय, वातावरण कानुन समाज नेपाल, नेपाल पन्छीविद् सङ्घ, कपन सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा वातावरण इन्जिनियर सुरज श्रेष्ठले सीमापार वन्यजन्तु अपराध नियन्त्रणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समुदाय, कानुन कार्यान्वयन निकाय र संरक्षणकर्मीबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो। नेपाल पन्छीविद् सङ्घका प्रमुख कार्यकारी अधिकृत लक्ष्मणप्रसाद पौड्यालले अवैध व्यापार र चोरी–सिकारीका कारण चराचुरुङ्गीहरू गम्भीर जोखिममा परेको उल्लेख गर्दै निगरानी, कानुनी कार्यान्वयन र जनचेतना अभिवृद्धिमा जोड दिनुभयो।

    images
    images

    प्राकृतिक विज्ञान सङ्ग्रहालयका प्रमुख डा. ईशान गौतमले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (CITES) कार्यान्वयनमा सङ्ग्रहालयको भूमिका, वैज्ञानिक अनुसन्धान, प्रजाति पहिचान तथा संरक्षण शिक्षाबारे जानकारी गराउनुभयो। उहाँले नेपाल सरकारले सन् १९९० देखि सङ्ग्रहालयलाई वन्यजन्तुतर्फको वैज्ञानिक निकायका रूपमा जिम्मेवारी दिएको उल्लेख गर्नुभयो।

    पत्रकार तथा वातावरण अभियन्ता अशोक सिलवालले हिमालदेखि महासागरसम्मका पारिस्थितिकीय प्रणालीहरू एकअर्कासँग जोडिएको उल्लेख गर्दै वन्यजन्तु संरक्षणलाई समग्र वातावरणीय दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    कार्यक्रमको समापनमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले यस्ता कार्यक्रमले वन्यजन्तु अपराध नियन्त्रण तथा जैविक विविधता संरक्षणसम्बन्धी प्रहरीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राजु खरेलले पनि कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

    अभिमुखीकरण कार्यक्रमले वन्यजन्तु अपराध नियन्त्रण, जैविक विविधता संरक्षण तथा वातावरणीय सुरक्षा सुनिश्चित गर्न प्रहरी, वैज्ञानिक संस्था, संरक्षणकर्मी, कानुन व्यवसायी र स्थानीय समुदायबीचको सहकार्य अझ सुदृढ गर्नुपर्ने सन्देश दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend